शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पाँच बर्षभित्र वडाका सबै ठाँउमा बत्ति बाल्छु : हरिहरपुरगढी गाँउपालिका अध्यक्ष वाईबा

सोमवार , श्रावण ९, २०७९

सिन्धुली, – सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका नौ वटै स्थानीय तहमध्ये दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिकाको रुपमा चिनिन्छ । यहा सबैभन्दा बढी क्रमसः तमाङ, मगर, माझी, दलित, ब्राम्हणक्षेत्री र पहरी समुदाय बाहुल्यता रहेको छ । उक्त पालिकाको अध्यक्षमा निर्बाचित बज्रध्वज वाईबाले अबको पाँच बर्षभित्र वडाका सबै ठाँउमा राष्ट्रिय प्रशारण लाईनको बिजुली बाल्ने आफ्नो योजना रहेको बताउनु भएको छ ।

सिन्धुली जिल्लाको नौँ वटा गाँउपालिकामध्ये विकासका दृष्टीले हरिहरपुरगढी गाँउपालिका पनि पछाडी परेको छ । उक्त पालिकामा विश्व बैंकको सहयोगमा विद्युतीकरण कार्य भई केही बस्तिमा मात्रै बिजुली बत्ति बलेको भएपनि पालिकाका आठ वटै वडाका सबै बस्तिमा उक्त बिजुली बाल्ने आफ्नो पहिलो योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्बाचनको बेला जनतासँग भोट माग्ने क्रममा घोषणा पत्रमा उल्लेख गरेका धेरै कुरा छन् । कृषिमा आत्म निर्भर बनाउने, गाँउपालिका भित्रका विद्यालयलाई आबासिय बनाई नमूना बनाउने, शिक्षामा प्रगती, मदनभण्डारी राजमार्गले नछोएका आठ वटै वडाका शाखा सडकलाई स्तर उन्नती गरी दिगोपना गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै ‘एक घर, एक रोजगार’ सिर्जना गर्ने लगायतका छन् ।”

अबको आफ्नो योजना पनि घोषणापत्रमा प्रतिबद्धतालाई क्रमसः कार्यान्वयन गर्दै जाने खालको रहेको गाँउपालिका अध्यक्ष वाईबाले जानकारी दिनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थय र सडक लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै गाँउपालिकाको आम्दानीको स्रोत बढाउन पर्यटन भित्र्याउन नयाँ काम गर्ने बताउनुभयो ।

उहाका अनुसार पर्यटन भित्र्याउन लक्ष्यले हरिहरपुरगढी दरबार मर्मतका लागि यो बर्ष गाँउपालिकाले ३१ लाख रुपैया बजेट छुट्याएको छ । पहिले मदन भण्डारी राजमार्गबाट हरिहरपुरगढीसम्म पुग्ने सडक निर्माणलाई दिगोपना दिईने छ । हरिहरपुरगढी दरबार मर्मत गर्न पहिले पनि केही काम भएको थियो, त्यो काम पर्याप्त भएको छैन । पालिकाभित्र बिभिन्न मठमन्दीर र गुम्बा निर्माण गरिने छ ।

क्यानेश्वरमा मानब निर्मित ताल निर्माण गर्ने, पर्यटन भित्र्याउन ठाँउ–ठाँउमा होमस्टे निर्माण गर्ने योजना पनि रहेको उहाँले सुनाउनुभयो । गाँउपालिका अध्यक्ष वाईबाका अनुसार पालिकाबाट अहिले पनि ठुलो सङख्यामा युवा रोजगारीको खोजीमा विदेश गई रहेकोले उनीहरुलाई गाँउमै रोक्ने योजना गाँउपालकाको छ । त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्दै लैजाने र एक घर, एक रोजगार अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

भोट माग्ने बेलामा घरदैलो गर्दा नागरिकको अपेक्षा आफुले धेरै पाएको चर्चा गर्दै उनीहरुको अपेक्षालाई सम्बोधन हुने गरी आफुले काम गर्ने उहाँको भनाई छ । कृषि तथा पशुपालन पेशालाई दिगो र भरपर्दो बनाउन कृषि पेशालाई व्यवसायिक र उत्पादनमुखि बनाउने पनि आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया