सिन्धुली– सिन्धुलीमा शुक्रबार पाँचजनामा कोरोना संक्रमण देखिएको छ । आरडिटिबाट परिक्षण गर्दा दुईजना महिला र तीनजना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका फोकल पर्सन सागर देवकोटाले बताउनुभयो ।
कमलामाई नगरपालिकाको दुई÷दुई जना महिला र पुरुष गरि चारजना र मरिण गाउँपालिकाको एकजना पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित महिलाहरुको उमेर ३१ र २१ रहेको छ भने ४२, ४८ र ५५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा छ दिनमा १३ जनामा संक्रमण देखिएको हो । १३ जना संक्रमित होम आइसोलेसनमा रहेको फोकल पर्सन ले बताउनुभयो । हालसम्म सिन्धुलीमा कोरोना संक्रमणबाट १६ जना महिला र २९ जना पुरुष गरि ४५ जनाको मृत्यु भएको छ ।
झण्डै १० महिनापछि सिन्धुलीमा गत आईतबार कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण बढिरहेको हुँदा सुरक्षाको न्युनतम मापदण्ड भएपनि पालना गर्न फोकल पर्सन देवकोटाले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मास्कको प्रयोग गरि कोभिड फैलिन नदिऊ ।”
थप ४५६ मा कोरोना संक्रमण
यसै बिच देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार १६८ जनाले पिसिआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा तीन लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा ५०० भन्दाबढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दाबढी संक्रमित रहेको ललितपुर रहेको छ । सून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय सत्रंmमित रहेको मन्त्रालयले जनाएको छ ।