भनाइ नै छ – ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड ।‘ ढलापडा रूखका जरा धेरैका लागि बेकामको वस्तु हो । गाउँघरमा यस्ता जरालाई दाउराको रूपमा मात्रै प्रयोग गरिन्छ । तर, सिर्जनशील मस्तिष्क र सिपयुक्त हातका लागि यिनै वस्तु सिर्जना र कलासाधनाको अपूर्व उपहार बन्न पुग्छन् । सुन्दर कलाकृति सिर्जनाका लागि बहुमूल्य कच्चा पदार्थ बन्न पुग्छन् । विश्वम्भर लामिछाने यस्तै सिर्जनशील मस्तिष्क र सिपयुक्त हातका धनी व्यक्ति हुन्, जसले ‘बेकामे जरा’ बाट सुन्दर कलाकृतिहरूको सिर्जना गरिरहेका छन् ।
सिन्धुलीका लामिछाने पेसाले वकिल र सोखले कलाकार हुन्। रुखको जराबाट विभिन्न किसिमका मूर्ति तथा आकृति निर्माण गर्ने कलाकार। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ स्थित आफ्नै निवासमा उनले जर्बुट्टा कला केन्द्र सञ्चालन गरेका छन् । केन्द्रमा रुखका जराबाट बनाइएका ३५० भन्दा बढी किसिमका आकृतिहरूको सङ्ग्रह छ। केन्द्रलाई उनले ससानो सङ्ग्रहालयकै रूप दिएका छन् ।
लामिछानेले २०४८ सालमा रुखका जराबाट जर्बुट्टा कला सिर्जना गर्न थालेका हुन् । जर्बुट्टा कला सिर्जनाको थालनी पनि रोचक छ । ३५ वर्षको उमेरमा एक दिन बाटोमा हिँडिरहँदा उनले एउटा रुखको जरा फेला पारे। त्यस जरामा उनले एउटा बिम्ब देखे । जरालाई धोइपखाली गरिसकेपछि उनले से बिम्बमा साहित्य भएको महसुस गरे । “त्यसपछि त्यसलाई आकृतिमा ढालेर जर्बुट्टा कलाको सुरुवात गरेँ,” उनी भन्छन्।
आफू पुगेका देशका विभिन्न ठाउँबाट विभिन्न किसिमका रुखका जरा ल्याएर लामिछानेले त्यसबाट विभिन्न आकृति तथा मूर्ति बनाउने गरेका छन्। उनले यससम्बन्धी प्रशिक्षणसमेत दिने गरेका छन्। २०७४ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा लामिछानेले आफ्नै निवासमा १३ जिल्लाका १८ जना विद्यार्थीलाई तीन दिने प्रशिक्षण दिए। यस किसिमका प्रशिक्षण खासै उपलब्धिमूलक भने नहुने गरेको उनको अनुभव छ। “यस किसिमका आकृर्ति बनाउँदा रुखका जराको आकारप्रकार जानेर त्यसअनुरूप आकृति तयार पार्दै जाने भएकाले प्रशिक्षणमा आकृति कसरी तयार पार्ने भन्ने कुरा सिकाउन मुस्किल छ,” लामिछाने भन्छन्, “एउटा आकृति बनाएपछि फेरि त्यस्तै बनाउन सकिँदैन । त्यसैले प्रशिक्षणमा विधि सिकाउन नमिल्ने र कलामा साहित्य हुने भएकाले जरामा पनि कथा खोज्न सके सुन्दर आकृति तयार हुने कुरा सिकाउँछु।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल आर्ट काउन्सिल ग्यालरीमा पनि कला प्रदर्शनी गरिसकेका लामिछाने जर्बुट्टा कला केन्द्र नेपालको पहिलो जर्बुट्टा सङग्रहालय भएको दाबी पनि गर्छन्। कला केन्द्रको नाम पहिले जर्बुट्टा कला सङ्ग्रहालय थियो। कानुनी रूपमा जाने प्रकियामा संस्था दर्ता गर्न खोजेका थिए तर सकेनन् । जिल्ला प्रशासन कार्यालयले जर्बुट्टाको सङ्ग्रहालय दर्ता गर्ने कानुन नहुँदा संस्था दर्ता गर्न नसक्ने बतायो। त्यसपछि गृह मन्त्रालयमा बुझे । गृह मन्त्रालयले पनि कानुन अभावका कारण सङ्ग्रहालय भनी दर्ता गर्न नमिल्ने बताए पनि फरक बाटो भने देखायो । गृहले अन्य नाम भएको खण्डमा मिल्ने भनेपछि संस्थाको नाम ‘जर्बुट्टा कला केन्द्र’ राखी २०७८ साउन २० गते कानुनी रूपमा दर्ता गरिएको पनि लामिछानेले बताए ।
कला केन्द्रको नाममा रहे पनि लामिछानेले यसलाई सङ्ग्रहालय मानेर सञ्चालन गरिरहेका छन्। अहिले लामिछानेको संयोजकत्वमा रहेको ११ सदस्यीय समिति केन्द्र र त्यहाँ सङ्गृहीत कलाको संरक्षणमा जुटेको छ । ३५० भन्दा बढी किसिमका आकृतिहरूको ‘सङ्ग्रहालय’ बनाएका लामिछाने ती आकृतिहरूको बिक्री भने गर्दैनन्। आकृति बिक्री गर्दा आफ्नो अस्तित्व र कला मरेर जाने उनको बुझाइ छ । “किन्छु भनेर स्वदेशी, विदेशी धेरै आए तर यो कला मैले बेचेँ भने कला त मरेर जाने भयो नि,” उनी थप भन्छन, “एउटा जस्तै अर्को बनाउन सकिँदैन । अनि बेच्दै जाँदा कला त सधैँका लागि लोप हुन्छ।”
रुट आर्ट तथा रुट कार्भिङको रूपमा जर्बुट्टा कला विश्वभर परिचित छ। रुट कार्भिङलाई परम्परागत चिनियाँ कलाको रूपमा लिइन्छ। चीनको रुट कार्भिङको इतिहास हेर्ने हो भने किङ्ग राजवंशको पालामा (सन १६४४-१९११) सम्राटहरूका लागि जनावर तथा ड्रयागनको आकार-प्रकारमा रुखका जराका विभिन्न कलाकृतिहरू बनाउने गरेको मानिन्छ। यसमध्ये ‘जेड ड्रयागन’ अहिले पनि सांघाइको सङ्ग्रहालयमा राखिएको छ। यसमा चार खुट्टा भएको जनावरमा बाघको टाउको, ड्रयागनको शरीर तथा खरायोको पुच्छर जस्तो आकार देखिन्छ। पहिले आदिम मानवहरूले गहनाको रुपमा पनि रुखका जरा लगाउँथे।
लामिछानेलाई साहित्यकलामा रुचि रहेकी उनकी श्रीमती प्रशिद्धा शर्माको पनि साथ छ । शर्माको हालसम्म दुई वटा कविता सङ्ग्रह प्रकाशित छन् । ‘बुढो रुखको प्रतिबिम्ब’ र ‘अन्तिम रातको घोषणा’ पुस्तककी सजर्क शर्मा पेसाले शिक्षिका हुन्।
वर्षौंदेखि घरमा नै सञ्चालित कला केन्द्रलाई अहिले भने बागमती प्रदेश सरकारले भवन निर्माणका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । लामिछानेले केन्द्रका लागि आफ्नो १ कठ्ठा जग्गा भवन निर्माणका लागि सहयोग गरेका छन् । अहिले केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको छ । फिनिसिङ्को काम केही काम भने बाँकी छ।
कला केन्द्रको भवन २९ फुट लम्बाइ र १४ फुट चौडाइको छ । एकतले सो भवनमा आफ्ना सबै मूर्ति तथा आकृतिहरू नअट्ने हुँदा लामिछाने चिन्तित छन्। हालसम्म बनाएका आकृति मिलाएर राख्न भवनभित्र उपयुक्त फर्निचर नहुँदा आकृति सबै नअट्ने भएको हो। उपयुक्त फर्निचरको जोहो गर्नका लागि उनी अहिले सहयोगी हातहरू खोजिरहेका छन्। त्यतिन्जेलका लागि कला केन्द्रसँग उपलब्ध फर्निचरको क्षमताले जति धान्छ त्यति नै आकृतिहरू राखेर नयाँ भवन सञ्चालनमा ल्याउने उनको योजना छ। नपाल प्रेसबाट साभार