सिन्धुली – तिनपाटन गाउँपालिका १ बेल्घारीको १७ वर्षिय एरिक हायु बुधबार कोठामा झुण्डिएको अवस्थामा फेला परे । कोठा भित्रको सिलिङ पंखामा डोरीको पासो लगाइ झुण्डि मुत्यृ भइसकेको अवस्थामा उहाँको परिवारले भेटेको प्रहरीले जनाएको छ । हायु होटल म्यानेजमेन्ट पढ्नका लागि आफन्तको घर कमलामाई नगरपालिका ६ रातामाटा बस्दै आउनुभएको थियो । घरमा कोहि नभएको समयमा मंगलबार राती नै झुण्डिएको अनुमान प्रहरीले गरेको छ । हाल मृतकको शब सिन्धुली अस्पतालमा पोष्टमाटमका लागि ल्याएको छ ।
यस्तै, गत असार २५ गते घ्याङ्लेख गाउँपालिकामा १२ वर्षिया बालिका झुण्डिएको अवस्थामा मृत फेला परिन् । ५ नम्बर वडा स्थित रामपुरमा घिसिङ टोल बस्ने रत्न बहादुर घिसिङको छोरी सपना घिसिङ शनिबार बिहान ११ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । आफ्नै घरदेखि ५ सय मिटर पूर्व खेतबारीमा मकै रुङ्न बनाइएको छाप्रोमा प्लास्टिकको नाम्लोले घाँटीमा बाधि झुन्डिएको अवस्थामा मृत फेला परेको उहाँले बताउनुभयो । विहान करिब ७ बजे बारीमा मकै रुङ्न गएकी बालिका ११ बजे खाना खान बोलाउँदा पनि नबोलेछि खोज्दै जानेक्रममा उनको हजुरबुबाले छाप्रोमा झुण्डिरहेको अवस्थामा मृत पाएका थिए । आत्महत्या गर्नुको कुनै कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा हरेक पाँच दिनमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । जिल्लाका नौ पालिकाको विभिन्न स्थानमा पाँच दिनमा एक जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउ छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला भित्र ६६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५९ जना झुण्डिएर र ७ जनाको विष सेवन गरेर मुत्यु भएको छ ।
बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताउनुभयो । “बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफता, श्रीमान÷श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन् ,” उहाँले भन्नुभयो । साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने डिएसपि लामाले बताउनुभयो । “प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई छिमल छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइत्तर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै– जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन् ,” उहाँले भन्नुभयो ।
सिन्धुली जिल्लामा नभइ देशभर नै आत्महत्याको समस्या रहेको उहाँको भनाइ छ । साथै उहाँले आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ,” उहाँले भन्नुभयो । आत्महत्या गर्नेहरु धेरै युवाअवस्थाका व्यक्तिहरु रहेको लामाले बताउनुभयो ।
शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरुसँग परामर्श गर्नुपर्ने मनो चिकित्सकहरुले सुझाव दिएका छन्् । पछिल्लो समय किशोर किशोरीले समेत आत्महत्या गर्नुको कारण पहिचान गरी विद्यालय स्तरबाटै जिवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरूरी रहेको उनीहरुको भनाइ छ । के कारणले मानिस आत्महत्या तर्फ उन्मुख हुने गरेका छन् ती कारणहरुको पहिचान गरी निराकरण गर्न जरूरी रहेको मनो चिकित्सक बताउँछन् । विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावकहरुको व्यवस्तता, लागूपदार्थको सेवन, पढाईमा असफता, परिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने पाईएकोले हरेक व्यक्तिसँग परिवार र समाजलाई जोड्नपर्ने उनीहरुको सुझाव छ ।