शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

९ अर्बको ‘युरेनियम’ सहित सिन्धुलीका घिमिरे पक्राउ

बुधवार , श्रावण ४, २०७९

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ५ का श्याम घिमिरे ‘युरेनियम’ सहित पक्राउ परेका छन् । घिमिरेसहित १५ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । दुई किलो युरेनियम भनिएको धुलोसहित विराटनगरको छुट्टा छुट्टै स्थानबाट दुई वटा समूहलाई प्रहरीले पक्राउ गरेको हो । विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । कोइरालाले पक्राउ परेकाहरु भरिया रहेको बताउनुभयो ।

उहाँका अनुसार साउन १ गते एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए । साउन ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जना पक्राउ परेका हुन् । साउन १ गते प्रहरीले मोरङ धनपालथान गाउँपालिका– ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका– १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्षियम किरन राई पक्राउ गरेको थियो ।

उनीहरुलाई विराटनगरको ठुल्दाइ होटलमा ग्राहकलाई पर्खिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । साउन ३ गते सिन्धुलीको कमलामाई नगरपालिका– ५ का २८ वर्षीय श्याम घिमिरे, गोरखाको गण्डकी गाउँपालिका– ८ का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका– ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका– १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका– ३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दिपकबहादुर भोलन, र महोत्ततरीको मनराषीशवा नगरपालिका ३ का ४९ वर्षीय उमेशप्रसाद यादव रेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । बरामत भएको वस्तु परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । प्रहरीले बरामद गरेको २ किलो युरेनियमको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार १३ करोड अमेरिकी डलरभन्दा माथि पर्ने जनाएको छ । यो भनेको करिब ८ अर्ब रुपैयाँ हुन्छ । एआइजी हरि पालले शुद्ध युरेनियमको बजार मूल्य १० ग्रामको २१ लाख ९ हजार अमेरिकी डलर अर्थात् नेपाली मूल्य करिब २४ करोड २५ लाख पर्ने बताउनुभयो । ‘आणविक भट्टीमा प्रयोग हुने यो पदार्थको क्षमता आधा नेपाललाई क्षति पुग्नेगरी विस्फोट गर्न सक्ने हुन्छ’, एआइजी पालले भन्नुभयो ।

यसअघि २०७७ फाल्गुन २९ गते करिब २३ अर्ब रुपैयाँ मूल्यको २ केजि ९ सय ग्राम युरेनियमसहित प्रहरीले सिन्धुलीका मनोज न्यौपानेसहित चारजनालाई पक्राउ गरेको थियो । नेपालमै पहिलोचोटि बरामद गरिएको उक्त युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक भार हुने यो धातुले लगातार ऊर्जावान् विकिरण फ्याँकिरहने भएकाले यसको सीमित आयु हुन्छ । प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ । एक किलो युरेनियम–२३५ बाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुने वैज्ञानिकहरूको दाबी छ ।

प्रतिक्रिया