सिन्धुली– सिन्धुलीमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । हरेक आर्थिक वर्षमा अघिल्लो पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन हुने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तीन आर्थिक वर्षमा सवारी कारबाहीबाट झण्डै आठ करोड राजस्व संकलन गरेको छ । जिल्लामा सवारी कारबाहीबाट प्रत्येक वर्ष एक करोड हाराहारीमा राजस्व संकलन हुने गरेको हो । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरू पनि बढेका छन् । प्रहरीले सवारी कारबाहीबाट वर्षेनी संकलन गर्ने राजस्वले सडकमा सवारी नियमको उल्लंघन बढ्दै गएको देखिएको हो । बढ्दो सवारी नियम उल्लंघनले सडक दुर्घटना समेत निम्तिने गरेको छ । सडकमा हुने अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेका छन् । तीन वर्षको यो अवधिमा सिन्धुलीमा मात्रै पाँच सय ७४ सवारी दुर्घटनामा एक सय १५ जनाले ज्यान गुमाएका छन् ।
आ.व. २०७८/०७९ मा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने ३७ हजार ठूला तथा साना सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट तीन करोड ६९ लाख ८२ हजार रुपैयाँ उठाएको छ । आ.व. २०७७/०७८ मा जिल्लामा ३२ हजार सात सय सवारीसाधनलाई प्रहरीले कार्वाही गरेको थियो । सो आ.व.मा ३१ करोड ५४ लाख राजश्व संकलन भएको थियो ।
ट्राफिक व्यवस्थापनका लागि नियमित चेकजाँचका क्रममा नियमविपरीत पार्किङ, मापसे गरी सवारीसाधन चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, मालबाहक सवारीसाधनमा क्षमताभन्दा बढी सामान बोकेको जस्ता विषयमा कारबाही गर्दा उक्त रकम उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो । जिल्लामा दुई ठूला राजमार्ग रहेकाले सवारीसाधनको चाप बढि हुने र ट्राफिक नियम उल्लंघन पनि बढि हुने कार्कीले बताउनुभयो । जिल्लामा विपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुदैँ दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछ । पछिल्लो केही वर्षदेखि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयन गराउन सवारी चेकजाँचलाई दैनिक अभियानकै रुपमा संचालन गरेपनि सवारी दुर्घट्ना न्युनिकरण हुन सकेको छैन ।
सवारी दुर्घटना बढ्योः गत आ.व.मा दुई सय ८९ वटा सवारी दुर्घट्ना भएको प्रमुख कार्कीले बताउनुभयो । सवारीसाधन दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ भने पाँच सय ४२ जना घाइते भएका छन् । आ.व. २०७७/०७८ भन्दा गत आर्थिक वर्षमा मृत्यु हुनेको संख्या ११ जनाले बढि रहेको तथ्यांकले देखाउँछ । सो आर्थिक वर्षमा दुई सय १९ वटा दुर्घटना भएको थियो जसमा ३५ को मृत्यु भएको थियो भने चार सय ३६ जना घाईते भएका थिए ।