सिन्धुली – कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको उदघाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले मंगलबार उक्त भवनको उदघाटन गर्नु भएको हो । उक्त भवन भारत सरकारो अनुदानमा बनेको हो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
त्यस्तै यस इन्स्टिच्यूटले काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको संस्थाले जनाएको छ, जसमध्ये ३० प्रतिशत छात्रा छन् ।