शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दर्जनौँ योजना मूल्यवृद्धिका कारण अलपत्र

शनिवार , आषाढ ३२, २०७९

सिन्धुली– बागमती प्रदेशले लगानी गरेको सिन्धुलीका दर्जनौँ योजनाहरु अलपत्र परेका छन् । मूल्यवृद्धिका कारण सानाठूला गरी दर्जनौँ योजना अलपत्र परेका छन् । प्रदेश सरकारका विभिन्न निकायले ठेक्का आह्वान गरी निर्माण गरिरहेका योजनाहरु मूल्यवृद्धिका कारण अलपत्र परेका हुन् ।

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट बहुवर्षीय योजना अन्तर्गत ठेक्का लागेका योजनाहरु पनि अलपत्र अवस्थामा रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिन्धुलीको क्यान खोला सडक पुल, सिन्धुली, आरुबोटे खोला पुल, सुनकोशी, मरिण खोलामा पक्की पुल (हरिहरपुर गाउँपालिका–२ को बाखफर र वडा–४ को हाकपुर जोड्ने सडक), सिन्धुली, कमलामाई नगरपालिका–९ र १० जोड्ने सडकको कमला नदीमा पक्की सडक पुल, सिन्धुलीगढी–मझुवा–काफलचौरी–दुम्जा सडक आयोजना, सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक (दोस्रो खण्ड) अलपत्र अवस्थामा रहेको छ ।

यसैगरी, सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक, घाँसा कल्लेरी मालुखोला सडक दोलखा, सुकुटे चापागाउँ मेलडाँडा थोकार्पा भन्ज्याङ्ग सडक, सिन्धुपाल्चोक, फिल्मसिटी एक्सेस सडक (कालोपत्रे कार्य), दोलखा–जगाडी–धनसरी सडक कालोपत्रे, सिन्धुली–बौलाखोला पक्कीपुल, पातीपरान खोला स्ल्याब कजवे, कमला नगरपालिका र लुङ्लिटार दुम्की ठाक्ले बाँसकटेरी सडक योजना पनि अलपत्र अवस्थामा रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको पनि मूल्य बढ्दा ती योजनालाई अघि बढाउन नसकिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निर्माण व्यवसायीले तत्काल ती योजनाको काम अघि बढाउन नसक्ने भन्दै अलपत्र छोडेको मन्त्रालयको भनाइ छ । प्रदेश सरकारले बहुवर्षीय र साना योजनामा समावेश गरेर अघि बढाएको विकास निर्माणका काम ठेकेदारबाट अलपत्र पारिएको मन्त्रालयले जनाएको छ । बजारमा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण ती योजनाको काम अघि बढाउन समस्या भएको र निर्माण कम्पनीले योजनाहरु अलपत्र पारेर छोडेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले बताउनुभयो ।

‘पछिल्लो समयमा भएको मूल्यवृद्धिका कारण ठेक्का लिएका निर्माण कम्पनीले काम अघि बढाउन समस्या भएको गुनासो गरेर योजनाहरुको निर्माण कार्य रोकेका छन्,’ उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीहरुले तत्काल मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् ।’ उहाँका अनुसार मूल्यवृद्धिका कारण कतिपय योजनाको ठेक्का लिएर पनि काम सुरु हुन सकेको छैन । मूल्यवृद्धिका कारण निर्माण कम्पनीहरुले ती योजनामा काम नै सुरु नगरेको उहाँले बताउनुभयो । उहाँले चैतको अन्तिमबाटै ती योजनाको काम रोकेर अलपत्र छाडिएको बताउनुभयो । निर्माण कम्पनीले तीन महिना अघिदेखि योजना अलपत्र छाडेको भए पनि मन्त्रालयले त्यस उपर केही कारवाही प्रक्रिया थालेको छैन । मन्त्रालयले ती योजना सञ्चालनका लागि हालसम्म कागजी रुपमा पनि ताकेता नगरेको हो ।

मन्त्रालयका अनुसार असार मसान्तपछि पनि बहुवर्षीय योजनाहरु अघि नबढाए चेतावनीसहित ताकेता गर्ने तयारी भइरहेको छ । ‘साना र कम सयममै सक्नुपर्ने अलपत्र योजना अघि बढाउन मौखिक रुपमा ताकेता गरिएको छ । तर बहुवर्षीय योजनाहरुबारे ताकेता गरिएको छैन । मन्त्रालयले असार मसान्तपछि निर्माण कम्पनीलाई ताकेता गरेर पत्र काट्ने तयारी गरेको छ,’ प्रवक्ता सिंहले भन्नुभयोे ।

प्रतिक्रिया