सिन्धुली– नागरिकलाई सहज सूचना दिन र पारदर्शीताका लागि स्थानीय तहहरुले लाखौँ खर्च गरेर पालिकाको वेवसाइट निर्माण गरेका छन् । त्यो वेवसाइट संचालन लगायत सूचना प्रविधि सम्बन्धी काम गर्न अधिकृत स्तरको आईटी इन्जीनियर पनि राखिएको छ । तर, सिन्धुली जिल्लाका केहि पालिकाहरुले पालिकाको वेवसाईटमा सूचना प्रवाह गर्न भने कन्जुस्याई गर्ने गरेको पाईएको छ । यसरी पालिकाको वेवसाईटमा सूचना राख्न कन्जुस्याई गरेर सूचना लुकाउनेमा अग्रपंक्तिमा जिल्लाको फिक्कल गाउँपालिका रहेको छ ।
जिल्लाका अन्य आठवटा पालिकाहरुले आ.व. २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट वेवसाईटमा राखि सक्दा फिक्कल गाउँपालिकाले भने हालसम्म आ.व. २०७८/०७९ कै बजेट समेत वेवसाईटमा राखेको छैन । फिक्कल गाउँपालिकाले आफ्ना ६ वटा वडा कार्यालयको कुनैपनि विवरण वेवसाईटमा राखेको छैन । पालिकाले बनाएका जम्मा पाँच वटा पुराना ऐन नियम नीति निर्देशिका मात्र वेवसाईटमा राखिएको छ जबकि कमलामाई, दुधौली नगरपालिका लगायतका पालिकाहरुले आगामी वर्षको आर्थिक ऐन समेत वेवसाइटमा राखि सकेका छन् । तर, फिक्कल गाउँपालिकाले तयार गरेको शिक्षा, सहकारी, ऐन नियमावली लगायतका दर्जनौ ऐन कानुनहरु वेवसाईटमा नराख्दा सर्वसाधारणले पालिका सम्बन्धी जानकारी लिन कार्यालयनै धाउनुपर्र्ने स्थिति रहेको छ ।
फिक्कल गाउँपालिकाको कार्यक्रम तथा परियोजना भन्ने फिचरमा राख्नु पर्ने बजेट तथा कार्यक्रममा हाल सम्म २०७७/०७८ को मात्र अपलोड भएको पाईएको छ । त्यस्तै योजना तथा परियोजनामा आ.व. २०७५/०७६ को मात्रै अपलोड छ भने आय व्यय विवरणमा केहिपनि अपलोड नै गरिएको छैन । त्यस्तै विद्युतीय सुसासनमा घटना दर्ताको कुनैपनि विवरण अपलोड छैन भने सामाजिक सुरक्षामा २०७५/०७६ को पुरानो विवरण देखिन्छ । यति सम्मकी नागरिक बडापत्र समेत २०७४/०७५ पछि अपलोड नै गरिएको छैन ।
सेवाग्राहीले सहज रुपमा सेवा लिउन् भनेर राखिने नमुना फारामहरु अन्य पालिकाहरुले नागरिकता फाराम, घटना दर्ता घरबाटो सिफारिस, चौहद्दि प्रमाणीत देखि विभिन्न सिफारिसहरुको समेत एक सय भन्दा बढि नमुना आवश्यक फारामहरु अपलोड गरेको पाईए पनि फिक्कल गाउँपालिकाको वेवसाइटमा भने जागिरका लागि आवेदन दिने तीन चार वटा फारामहरु मात्रै राखिएको छ ।
फिक्कलको वेवसाइटमा अझ भद्रगोल त प्रतिवेदनमा छ । मासिक, चौमासिक प्रतिवेदन हाल सम्म कुनैपनि अपलोड गरिएको छैन भने बार्षिक प्रगति प्रतिवेदन तयार हुन वाँकी भएपनि आ.व. २०७७/०७८ को लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन तयार भएर पालिकामा महालेखाले दिई सकेको भएपनि त्यो पनि अपलोड गरिएको छैन । तर अन्य पालिकाहरुले भने प्रारम्भिक प्रतिवेदन पनि अपलोड गरेका छन् । प्रतिवेदन शिर्षकको उप शिर्षकमा रहेका अनुगमन प्रतिवेदन, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षणका कुनैपनि रिपोर्ट फिक्कल गाउँपालिकाको वेवसाईटमा अपलोड छैनन् । प्रकाशन शिर्षकमा स्थानीय पाठ्यक्रम मात्र अपलोड गरिएको छ । जबकि गाउँपालिकाले बार्षिक बजेट किताव, ब्रोसर, नागरिक बडापत्र, ऐन कानुन लगायतका धेरै सामग्रीहरु प्रकाशन गर्ने गरेपनि ति कुराहरु वेवसाईटमा राखेर सार्वसाधालाई जानकारी दिने विषयमा भने कन्जुस्याई गरेको पाईएको छ । फिक्कलको वेवसाइटमा आ.व. २०७९/०८० को बजेटको आय व्ययको कुल अंक मात्र १ पेज मधुरो स्क्यान कपि हालिएको छ । कर तथा शुल्कमा कुनैपनि डाटा उपलब्ध छैन । बोलपत्र प्रकाशन सम्बन्धी सूचना भने अपलोड गर्ने गरेको पाईएको छ । गाउँ परिषद्का निणर्यहरु समेत वेवसाईटमा राखिएको छैन ।
फिक्कल गाउँपालिकाले जस्तो अन्य पालिकाहरुले पनि सबै फिचर समयमा अपलोड नगरे पनि महत्वपूर्ण कुराहरु भने राख्ने गरेका छन् । प्राय पालिकाहरुले मासिक र चौमासिक प्रतिवेदनहरु अपलोड नगरेको पाईएको छ । तर फिक्कल गाउँपालिकाले अपलोड नगरेको आगामी आ.व.को बजेट, नमुना फाराम, मलेप प्रतिवेदन, वडा कार्यालय र कर्मचारीको विवरणहरु, राजपत्र, विभिन्न प्रकाशनहरु भने अन्य पालिकाहरुले नियमित रुपमा अपडेट गर्ने गरेका छन् ।
यसरी सूचना अपलोड नगर्नुको एक मात्र कारण सर्वसाधारणलाई सहज रुपमा सुचना नदिने अथावा सुचना लुकाउने प्रयोजन बाहेक अन्य केहि होइन । काठमाडौँ महानगरपालिकाले कार्यापालिकाको बैठकको नै लाईभ गर्न थालेको अवस्थामा सिन्धुलीका पालिकाहरुले बैठकले पास गरेको निर्णय समेत सार्वजनिक गर्न डराउनुले पादर्शीताको ठूलो खडेरी देखिन्छ । महानगरले आगामी आ.व.को बजेट सार्वजनिक गरेकाले नै यमबुद्धको सालिक निर्माण गर्ने, इ–गेमका लागि रकम विनियोजन गर्ने, इन्धनको खर्च थप गर्ने लगायतका निर्णयमा सर्वसाधारणको राय सहित बहस भईरहेको छ । यसले गर्दा गलत कामको विरोध र सहि कामको समर्थनमा सहयोग पुगिरहेको छ । तर फिक्कल गाउँपालिकाले जसरी सूचना लुकाउने कार्यले गलत कामलाई ढाकछोप बाहेक अन्य केहि गरेको छैन ।
फिक्कल गाउँपालिकाले गत वर्षको बजेटमा नै थुप्रै अनियमितता र नितिगत बद्मासि गरेको छ तर त्यो सर्वसाधारणले सहज रुपमा सार्वजनिक भएर हेर्न नपाएकै कारण बहसमा आउन सकेको छैन । यो वर्षको बजेट र योजनाहरु पनि सहज रुपमा हेर्न नपाएका कारण सही गतल के गरेको छ हाल सम्म कसैले पनि बुझ्न सकेको छैन । बजेट सार्वजनिक गरेका जिल्लका अन्य पालिकाहरुको वडा तह सम्म विनियोजित बजेटको सान्र्दभिकता र उपयोगिताको विषयमा सामाजिक सञ्जाल देखि वडा र पालिकाको बैठकमा समेत बहस भईरहदा फिक्कल गाउँपालिकाको बजेटको कुल अंक बाहेक अन्य विषयमा सर्वसाधारण बेखवर छन् । यो अनियमितताको अर्को श्रृखला हो ।
सर्वसाधारणलाई सूचना र जानकारी दिन, पादर्शीताका लागि लाखौ खर्चेर तयार पारिएको वेवसाईट फिक्कल गाउँपालिकामा मत्रै होइन देश भरका ७ सय ५३ वटै पालिकामा अनुगमन गरेर पर्याप्त सूचना राखिएको नराखिएको खवरदारी गर्न आवश्यक छ । फिक्कल गाउँपालिकाले यथाशिघ्र आवश्यक सूचनाहरु वेवसाईटमा अपलोड गर्न जरुरी छ ।