सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । कमलामाई नगरपालिका ६ स्थित खम्बेचौर र ९ नम्बर वडास्थित आजात स्मृति परिसरमा व्यायामशाला निर्माण गरिएको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन ।
व्यायामशाला निर्माणमा नगरपालिकाको १३ लाख रुपैँया खर्च भएको छ । दुवै व्यायामशालामा ८÷८ वटा उपकरण राखिएको नगरको वातावरण शाखा प्रमुख सागर कुमार ढकालले जानकारी दिनुभयो । ‘रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा नगरले व्यायामशाला बनाएको हो’ ढकालले भन्नुभयो ।
यता, नगरप्रमुख उपेन्द्र पोखरेलले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि व्यायाम आवश्यक रहेको भन्दै नगरवासिको स्वास्थ्यप्रति नगर सजग रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।’
व्यायामशालामा विभिन्न आधुनिक ८ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । सिन्धुलीमा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
खुला व्यायामशालामा छानाको अभाव छ । छानो नबनाइएका कारण पानी पर्दा असुविधा हुने स्थानीयवासीको भनाइ छ ।