सिन्धुली– सिन्धुलीमा स्नातक तहको सिभिल इन्जिनियरिङ र सूचना प्रविधि (आईटि) कार्यक्रम संचालनमा आउने भएको छ । काठमाडौँ विश्वविद्यालयले सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटमार्फत कार्यक्रम विस्तार गरेको छ । केयूले बुधबार धुलिखेलमा एक समारोहबीच इन्स्टिच्युटसँग पुरक सम्झौता गर्दै कार्यक्रम अघि बढाएको जनाएको छ ।
सम्झौता अनुसार सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटले ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फर्मेशन टेक्नोलोजी (बिटेक इडि इन् आईटि) र ब्याचलर अफ टेक्निकल एजुकेसन इन् सिभिल इन्जिनियरिङ (बिटेक इडि इन सिई) मा ३०/३० जना विद्यार्थी भर्ना गरी अध्यापन सुरु गर्ने जानकारी दिइएको छ । काठमाडौं विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ अन्तर्गत काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यी कार्यक्रमहरु संचालन हुने भएकाले मापदण्ड अनुसार आवश्यक पर्ने जनशक्ति र भौतिक व्यवस्थापन सम्बन्धी कार्यहरुमा लाग्ने सम्पूर्ण प्रशासनिक तथा शैक्षिक खर्च कार्यक्रम संचालन गर्ने संस्थाले व्यहोर्ने व्यवस्था छ ।
कार्यक्रमका प्राचार्य वा डाइरेक्टर वा कोओर्डिनेटरको नियुक्ति काठमाडौँ विश्वविद्यालयले गर्ने र निर्धारित शिक्षण शुल्कमध्ये प्रतिवर्ष भर्ना हुने व्याच (समूह) का विद्यार्थीहरूबाट प्राप्त भएको शिक्षण शुल्कको २० प्रतिशत रकम पनि कार्यक्रम संचालन गर्ने संस्थाले काठमाडौं विश्वविद्यालयलाई बुझाउने शर्तका आधारमा यि कार्यक्रमहरु संचालन गर्ने अनुमति सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटलाई दिईएको केयूले जनाएको छ ।
सरकारीस्तरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गत एक हजार १३१ संस्थामा ७० हजार विद्यार्थी अध्ययनरत छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि २८४ विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन गर्दै आएको छ । यसैगरी, विभिन्न ११ वटा मन्त्रालयले पनि प्राविधिक तथा व्यासायिक तालिम सञ्चालन गर्दै आएको छ ।