शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘मूर्ति’ बनेर अर्थोपार्जन गर्दै सिन्धुलीका दावा (भिडियोसहित)

शनिवार , आषाढ २५, २०७९

सिन्धुली– सिन्धुली जन्मथलो भएका ३५ वर्षीय दावा लामा काठमाडौँका विभिन्न स्थानमा मूर्ति जस्तै बनेर घण्टौँ उभिने गर्नुहुन्छ । उहाँसँग फोटो र भिडिओ खिच्ने तथा टिकटक बनाउन मानिसहरुको भिडनै लाग्ने गर्दछ । युट्युबमा चिनियाँहरुले सार्वजनिक स्थलमा मूर्ति बनेर दर्शकको मन जित्दै अर्थोपार्जन गरेको देख्नुभएका लामाले सोहि काम आफूले पनि सिकेको बताउनुहुन्छ । लामलाई चिन्नहरुले नेपालको ‘सिल्भर म्यान’ भनेर बोलाउने गर्दछन् ।

मुखैभरि चाँदी रंग दलेर चाँदी रंगकै दौरा सुरुवाल र टोपीमा उहाँ सजिनुहुन्छ र मूर्ति जसरी नहल्ली, नचल्मलाई घण्टौँसम्म स्थिर बस्ने गर्नुहुन्छ । यो नै उहाँको पेशा हो । मनोरञ्जन दिदैँ अर्थोपार्जन गरिरहनुभएका लामाले मूर्ति जस्तै स्थिर बस्न छ महिना ट्रेनिङ गरेको बताउनुहुन्छ । विगतमा गलैँचा बुन्ने देखि होटल व्यवसायसम्म संचालन गर्नुभएका लामा अहिले मूर्ति बन्ने पेशाप्रति सन्तुष्ट हुनुहुन्छ । सामाजिक सञ्जालमा चर्चित बन्दा खुसी लागेको लामा बताउनुहुन्छ । पाँच घण्टासम्म लगातार हलचल नगरी उभिएर आफूले सडकमा कला प्रदर्शन गरे पनि केहीले ‘माग्न बसेको’ टिप्पणी गर्दा भने दुख लागेको लामा बताउनुहुन्छ । आदिकवि भानुभक्त आचार्यको अवतारमा मूर्ति बनेर घण्टौँ सडकमा उभिने लामाको रहर राजा पृथ्वीनारायण शाहजस्तै बनेर उभिने छ ।

मूर्ति बनेर उहाँ दिनमै हजार देखि चार हजारसम्म कमाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अन्य दिन भन्दा शनिबारको दिन अलि बढि पैसा हुन्छ ।’ मूर्ति बन्दा उहाँको तितो अनुभवहरु पनि छ । कहिले प्रहरीले दुख दिन्छन् त कहिले दर्शकहरुले उहाँमाथि छेडछानि गर्छन् । उहाँले भन्नुभयो, ‘मूर्ति हो कि मान्छे हो भनेर कोहिले पानी हाल्दिीन्छन्, कोहिले गाला तान्छन्, चिमाट्छन् , अंगालो मार्छन्, चुम्बन गर्छन्, रिस उठेपनि नरमाइलो लागेपनि सहनै पर्छ, मेरो कामनै यहि हो ।’ दर्शकले आफूलाई हसाउन खोज्ने, काउकुति समेत लगाउने गरेको लामा बताउनुहुन्छ । तर, ६ महिनाको ट्रेनिङले गर्दा आफू स्थिर भएर बस्न सकेको लामाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया