सिन्धुलीमा जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी बरिष्ठ नायब निरिक्षको कमाण्डमा खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा विहिबार शुवर्ण होटल एण्ड लजमा जुवा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जनालाई पक्राउ गरेको हो । “घ्याङ्लेख गाउँपालिका वडा नं.४ स्थायी घर भई हाल कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा शुबर्ण होटल एण्ड लजमा जुवा तास खेलाईरहेको भन्ने बिशेष सुचनाको आधारमा उक्त होटल खानतलासी गर्दा होटलको दोश्रो तल्लाको १० नं. कोठामा लुकिछिपी तास खेलीरहेको अबस्थामा सात जनालाई पक्राउ गरिएको हो ।” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले भन्नुभयो । होटल संचालक सहित सात जनालाई नगद एक लाख अठासी हजार पाँच सय, खुल्ला तास २२ बुक, बिभिन्न कम्पनीको मोबाईल ६ थानसमेत फेला पारेको उहाँले बताउनुभयो । उनीहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।