सिन्धुली- सिन्धुलीमा छ वटा इन्टरनेट प्रदायकको सेवा बन्द हुन सक्ने भएको छ । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले एक सूचना निकाल्दै प्राधिकरणको पोल प्रयोग गर्ने तर शुल्क नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनि दिएको हो ।
प्राधिकरणले पोलभाडा नतिरी विद्युतीय पोल प्रयोग गरी अप्टिकल फाइबर सञ्चालन गर्ने ईन्टरनेट सेवा प्रदायकको नामावली सार्वजनिक गरेको छ । जिल्लाभार सेवा दिदैँ आएको वल्र्डलिंक, युनाइटेड र सुबिसु, गोलन्जोर, सुनकोशी र फिक्कलमा सेवा दिदैँ आएको एरोनेट, दुधौलीमा सेवा दिदैँ आएको निशान केवल, तिनपाटन डकाहामा सेवा दिदैँ आएको श्रेष्ठ डिजिटल डिष्ट्रिव्युसन र दुधौलीमा सेवा दिदैँ आएको हाम्रो भरोसा बहुउयुश्यीय सहकारी संस्था ली.ले पोल प्रयोग गरेबापत वर्षौँदेखि बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ । इन्टरनेट सेवा प्रदायकहरुले विद्युतीय पोल प्रयोग गरी अप्टिकल फाइबर संचालन गरे बापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने पोलभाडा बर्षौंदेखि नतिरीकन अटेर गरी ईन्टरनेट सेवा प्रवाह गर्ने व्यवसाय सञ्चालन गर्दै आईरहेको सूचनामा उल्लेख गरिएको छ । साथै, त्यस्ता सेवा प्रदायकहरुको अप्टिकल फाइबर प्राधिकरणले जुनसुकै बखत पनि काट्न वा पोलबाट हटाउन सक्ने चेतावनि दिएको छ ।

प्राधिकरणले ईन्टरनेट सेवा प्रयोगकर्तालाई पर्ने असरप्रति सजग गराउदै यथाशीघ्र सम्झौता गरी पोलभाडा तिर्नको लागि ईन्टरनेट सेवा प्रदायकहरुलाई सुचित गरेको छ । साथै, अटेर गरी पोल भाडा नतिर्ने सेवा प्रदायकको अप्टिकल फाइबर पोलबाट हटाउने वा काट्ने कार्यबाट ईन्टरनेट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने व्यहोरा समेत सूचनामा जानकारी उल्लेख गरिएको छ ।