सिन्धुली, – सिन्धुली जिल्लामा बर्षाका कारण ग्रामीण क्षेत्रका सडक बिग्रीएर दयनिय अवस्थामा पुगेका छन् ।
दुई दिनसम्म परेको अबिरल बर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ् सडक, सोलाभञ्ज्याङ्–मझुवा सडक, खनियाखर्क–तीनकन्या सडक, बस्तिपुर–रामपुर लगायतका ग्रामीण सडक, भत्किएर दयनिय अवस्थामा रहेको स्थानीय बासिन्दा बताउछन् ।गोलन्जोर गाँउपालिका–५ हिर्दिङमा डेरी उद्योग सञ्चालन गर्दै आउनु भएका व्यवसायि नेत्रबिक्रम थापा दुई दिनसम्म परेको अबिरल बर्षाले खनियाखर्क–तीनकन्या सडक भत्किएर लथालिङग भएको गुनासो गर्नु हुन्छ । उहाँले भन्नुभयो, “बर्षाले सडक भत्काएपछि दुध ढुवानी गर्न सकस भएको छ ।”गाडी नै चल्न नसक्ने गरी सडक भत्किएको र गाँउका अरुलाई समेत आउनजान कष्ट भएको उहाँको भनाई छ । अहिले उक्त सडकमा यात्रा निकै जोखिम पूर्ण रहेको उहाँले बताउनुभयो । यातायात बन्द हुदा गाँउमा उत्पादन भएको कृषि उपज तथा फलफुल बगैंचामा नै कुहिएर जान सक्ने डरले किसान चिन्तामा परेका छन् ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्ण थापामगर ४० किलोमिटर लामो सिन्धुलीमाढी–चकमके सडकको यात्रा यतिखेर निकै डरमर्नु नै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उक्त सडक अन्तर्गत कमलामाईको पल्लो रामपुरदेखि हिलेभन्ज्याङ थरहरी क्षेत्रमा धान रोप्न ठिक्क पारेको खेत जस्तै छ सडक ।”
सिन्धुलीमाढीदेखि भिमस्थानसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न अहिले स्तरउन्नतीको काम भई रहेकाले सडक हिलाम्य भएको उहाँले सुनाउनुभयो ।
त्यस्तै चकमकेदेखि बाहुनतिल्पुङसम्म करिब १० किलोमिटर सडकको बीचमा पर्ने विभिन्न खोलानालामा पुलको अभाव र सडकको मर्मत सम्भार हुन नसकेर यातायात सेवा बन्द हुदा अहिले त्यस क्षेत्रका बासिन्दाहरु सदरमुकाम आउन र जान तीन दिनसम्मको पैदल हिड्न बाध्य भएका तीनपाटन गाँउपालिक स्थित बाहुनतिल्पुङ् निवासी शिक्षक रामप्रसाद अधिकारी बताउनुहुन्छ ।
हिउदको समयमा बाहुनतिल्पुङदेखि काठमाण्डौसम्म दैनिक रुपमा बस सेवा सञ्चालन हुदै आएकोमा बर्षाको मौसम सुरुसँगै यातायात सेवा नै बन्द भएको उहाँको गुनासो छ । यातायात सेवा बन्द हुदा त्यस क्षेत्रमा दैनिक उपभोग्य बस्तु ढुवानीमा समेत कठिन भएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएको तरकारी, फलफुल लगायतका कृषी उपज बेचबिखन गर्न सम्स्या भएको कृषकहरुको गुनासो छ ।