शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दिवा खाजाको नाममा गुणस्तरहिन खाजा खान विद्यार्थी बाध्य

शुक्रवार , आषाढ १७, २०७९

सिन्धुली– सामुदायिक विद्यालयले दिवा खाजाको नाममा गुणस्तरहिन खाजा खुवाउने गरेको अभिभावकले गुनासो गरेका छन् । संघीय सरकारले सामुदायिक विद्यालयका कक्षा पाँचसम्म पढ्ने बालबाबालिका लागि संचालन गरेको दिवा खाजा गुणस्तरहिन भएको अभिभावकले गुनासो गरेका हुन् । सरकारले स्थानिय तहमार्फत प्रति विद्यार्थी दैनिक १५ रुपैँयाको दरले सामुदायिक विद्यालयलाई बजेट वितरण गरिरहेको छ । उक्त रकम अपुग भएको भन्दै सिन्धुलीका सामुदायिक विद्यालयले गुणस्तरीय खाना खुवाउन नसकेको बताएका छन् ।

महंगी दिनहुँ बढिरहेको हुँदा सोहि रकममा खाजा खुवाउन मुश्किल भएको दुधौली नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताउनुभयो । ‘१५ रुपैँयामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्वसहितको खाजाको व्यवस्था कसरी गर्ने ?’, उहाँले प्रश्न गर्नुभयो । त्यस्तै, जिल्लाकै कमलामाई नगरपालिका ३ मा संचालित आधारभुत विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुलाई प्याकेटको खाजा ख्वाउन बाध्य रहेको गुनासो गर्नुभयो । पैसा अभावका कारण विद्यार्थीलाई दालमोट, मुरि लगायत जंकफुड ख्वाउन विद्यालय विवश भएको उहाँले बताउनुभयो ।

दिवा खाजा कार्यक्रमको बजेट संघ सरकारबाट पालिकामा समयमा पठाईएपनि विधालयमा भने आर्थिक वर्षको अन्त्यअन्तमा मात्रै आइपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको विद्यालयहरु बताउछन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको एक सामुदायिक विद्यालयका प्राध्यानाध्यापकका अनुसार दिवा खाजा कार्यक्रमको लागि आएको बजेट समयमै नआउदाा समस्या हुने गरेको छ । उहाँ भन्नुहुन्छ,‘एक आर्थिक वर्षको अन्तिम तिर मात्रै बजेट निकासा भएर विधालयमा आउछ, जसका कारण पालिकामा सुरुमा दिएको विधार्थी संख्याभन्दा बढी विधार्थी हुन्छन् । जसका कारण सबैलाई खाजा खुवाउँदा रकम अपुग हुन जान्छ ।’

विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगि पुस्तिका २०७७ मा उल्लेख भए अनुसार दिवा खाजाको प्रमुख जिम्मेवारी स्थानिय तहको सामाजिक विकास समितिलाई प्रदान गरिएको छ । पुस्तिकामा उल्लेख भए अनुसार निर्देशिकाको खण्ड ४ मा स्थानिय तहको उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा सामाजिक समितिका प्रमुख , अध्यक्षले तोकेको महिला वडा अध्यक्षहरु मध्येबाट, प्रमुख प्रशासकिय अधिकृत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुमध्ये बाट, आधारभूत तहका शिक्षकहरु मध्येबाट, महिला शिक्षकहरु मध्येबाट, स्वास्थ्य तथा कृषि विकास हेर्ने शाखा प्रमुख, सदस्यहरु र शिक्षाका प्रमुख अधिकृत सदस्य—सचिव रहने गरी कूल १० जनाको समिति र यस समितिको १३ वटा काम, कर्तव्य र जिम्मेवारी तोकिएको छ । तर, जिल्लाका स्थानिय तहले सो समिति निर्माण र जिम्मेवारीबोध बनाउन प्राथमिकता नदिएको अभिभावकले गुनसो गरेका छन् ।

जिल्लाको तिनपाटन गाउँपालिका २ कि हरिमाया तोलंगेका अनुसार अनुगमन नहुँदा विद्यार्थीहरु गुणस्तरहिन खाजा खान बाध्य छन् । उहाँले भन्नुभयो, ‘एक त १५ रुपैँया अपुग हुने देखिन्छ । तर, जसोतसो एउटै मेसमा खाजा ख्वाउँदा खर्च समायोजन गर्न सकिन्छ । दिवा खाजाको अनुगमन गरिनुपर्छ ।’

जिल्लाको मरिण गाउँपालिकाले भने आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रति विद्यार्थी पाँच रुपैँया सहयोग गर्ने उल्लेख गरेको छ । योसँगै अब मरिणका सामुदायिक विद्यालयले प्रति विद्यार्थी २० रुपैँयाको दरले दिवा खाजाको बजेट पाउनेछन् । त्यसैगरि, संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा कक्षा ८ सम्म दिवा खाजा विस्तार गरिने जनाएको छ ।

सिन्धुलीमा पाँच सय बढि सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन् । संघीय सरकारले दैनिक ३ लाख भन्दा बढि बजेट दिवा खाजाकालागि सिन्धुली जिल्लामा खर्च गर्दै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया