शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका भुकम्प पीडितलाई अनुदान रकम लिन सकस

बुधवार , आषाढ १५, २०७९

सिन्धुली, – सिन्धुली जिल्लामा बजेट अभावमा भुकम्प पीडित लाभग्राहीलाई नीजि आवास निर्माण तथा मर्मतको अनुदान रकम पाउन सकस परेको छ ।

बजेट अभावमा नीजि आवास निर्माण तथा मर्मत गरेका भुकम्प पीडित लाभग्राहीलाई उक्त अनुदान रकम दिन नसकेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार नीजि आवास निर्माण तथा मर्मत गरेका भुकम्प पीडित लाभग्राहीलाई अनुदान दिन अझै ३४ करोड रुपैयाको अभाव रहेको छ । भुकम्प पीडित लाभग्राहीलाई उक्त रकम दिन केन्द्र समक्ष ४० करोड रुपैया माग गरिएकोमा छ करोड रुपैया मात्रै आएपछि यो समस्या भएको हो ।

उक्त कार्यालयका ईन्जिनियर राहुल मिश्रले भुकम्प पीडितलाई किस्ताको रकम दिन गत फागुन महिनामा नै ४० करोड रुपैया माग गरेको भएपनि करिब डेढ महिना अघि मात्रै छ करोड रुपैया आएको र उक्त रकम बितरण गर्न अहिलेसम्म फुकुवा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड अनुसार नीजि आवास निर्माण तथा मर्मत सम्पन्न गरेका भुकम्प पीडित लाभग्राहीलाई अनुदान दिन चालु आर्थिक बर्षका लागि ३२ करोड २२ लाख रुपैया आएको थियो । उक्त रकम फागुन महिनाभित्र नै सकियो ।”

“लाभग्राहीले फागुन महिनामा नै अन्तिम किस्ता माग गरेको रकम नौ करोड रुपैया पुगेको थिएन,” उहाँले भन्नुभयो, “नीजि आवास पुननिर्माण तर्फ अन्तिम तथा तेस्रो किस्ता माग गर्ने लाभग्राहीको सङख्या फागुन महिनामा नै एक हजार ७४१ थियो, उनीहरुले अहिलेसम्म उक्त रकम लान पाएका छैनन् । भर्खरै फेरी मन्त्री परिषदबाट निर्णय गराई सरकारले असार १५ गतेसम्म किस्ता माग गर्ने समय सिमा तोकेको छ । फाईलहरु आई रहेको छ । अझै कति रकम थपिने हो ।”

उहाँका अनुसार नीजि आवास निर्माण गर्ने लाभग्राहीले पहिलो किस्ता बापत ५० हजार, दोस्रो किस्ता बापत एक लाख ५० हजार र तेस्रो किस्ता बापत एक लाख गरी तीन लाख रुपैया अनुदान पाउदछन् । त्यस्तै नीजि आवस मर्मत (प्रबलिकरण)का लाभग्राहीले पहिलो किस्ता बापत ५० हजार रु अन्तिम किस्ता बापत ५० हजार गरी एक लाख रुपैया पाउछन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार सिन्धुली जिल्लामा २०७२ सालको विनासकारी भुकम्पका कारण पुननिर्माण तर्फ कुल लाभग्राही ४० हजार ३०८ जना र प्रवलिकरण तर्फका १२ हजार लाभग्राही रहेका छन् । ती मध्ये हालसम्म पुननिर्माणतर्फ नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम ३८ हजार ८१५ जना, दोस्रो किस्ता ३८ हजार १०८ जना र तेस्रो तथा अन्तिम किस्ता ३७ हजार ७४ जनाले लगेका छन् ।

त्यस्तै प्रबलिकरणतर्फ सम्झौता गरी पहिलो किस्ता रकम नौ हजार ५०७ जना र दोस्रो तथा अन्तिम किस्ता एक हजार ५८० जनाले लगेका छन् । पुननिर्माण तर्फ नीजि आवास निर्माणका लागि सम्झौता गरेर पनि १२१ जना लाभग्राहीले बैंक खाता नम्बर नदिनु लगायतका कारणले पहिलो किस्ता रकम समेत नलगेको कार्यालयले जनाएको छ ।

अहिले भुकम्पको अनुदान रकम माग गरी कार्यालयमा धाउने बढी मात्रामा प्रबलिकरणका लाभग्राही रहेको कार्यालयका नायब सुब्बा लक्षमण कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो किस्ता लैजान बाँकी प्रबलिकरणका लाभग्राहीको सङख्या सात हजार ९२७ जना छन् । जिल्लामा हालसम्म २८ हजार ५०८ जना लाभग्राहीले नीजि आवस निर्माण गरेका छन् ।”

नीजि आबास निर्माण गर्ने लाभग्राही मध्ये एक हजार ७४१ जनाले तेस्रो किस्ता माग गरी कागजपत्र पेस गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा भुकम्प पीडित लाभग्राही सूचीमा ३४ हजार २५६ जनाको नाम निस्किएको थियो । बाँकी लाभग्राहीहरु गुनासो सूचिबाट पछि थपिएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया