शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दुधौलीमा चालिस घरधुरीलाई एउटा धारो

मंगलवार , आषाढ १४, २०७९

सिन्धुली, – सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदाय खानेपानीका लागि बर्षाको मौसममा समेत सास्ती व्यहोर्न बाध्य छन ।

उक्त गाँउमा रहेका चालिस घर परिवार गाँउको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजार्न बाध्य भएका हुन् । स्थानीय गंगा सदाले ४० घर परिवारका लागि एउटा मात्र धारो हुदा कहिले कँंहि खानेपानीका बीच झगडा समेत हुने गरेको सुनाउनु हुन्छ ।

उहाँले भन्नुभयो, “गाँउको बीचमा एउटा धारो छ, त्यो पनि नियमित आउदैन । दिन बिराएर जस्तो आउछ । आएको बेला पनि छोटो समय आउछ । पानी आएको बेला कस्ले पहिले भाँडा भर्ने भनेर तँछाड मछाड नै हुन्छ ।” उहाँले आफु उक्त ठाँउमा विवाह गरी आएको ११ बर्ष भएको र अहिलेसम्म नै खानेपानीको सास्ती व्यहोर्दै आएको बताउनुहुन्छ ।

गाँउमा भएका ईनार समेत सुक्नाले खानेपानीको समस्या व्यहोर्दै आउनु परेको उहाँको दुःखेसो छ । उहाँका अनुसार घरबाट नजिकको खोलामा गएर पानी ल्याउन एक घण्टा जति समय लाग्छ । केही दिनअघि मात्र टाउँकोमा बोेकेर ल्याएको पानी घर नजिक आएपछि ठेस लागेर पोखिएको र गाग्री खुचिएको उपभोक्ता सदाले सुनाउनुभयो ।

त्यस्तै मुसहर समुदायकी अगुवा आशा सदाले पानीको धेरै समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, “४० घर परिवारको लागि दुई÷तीन घण्टा पानी आउने एउटा धारो छ । यसले मान्छेलाई पुग्दैन ।” मानिसले नुहाउन, लुगाधुन र पशु चौपायाका लागि पानी खोज्दै नजिकको खोलामा जाने गरेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार मुसहर समुदाय सबैको घरमा जनता आवास कार्यक्रम अन्तर्गत शौचालय समेत छ । पानीको अभावमा सौचालय सफा गर्न नपाएपछि स्थानीयबासी दिसापिसाव गर्न घर छेउको जङगलमा जाने गरेका छन् । पानीको अभावले सरसफाई गर्न नसक्दा स्थानीयबासीलाई बेलाबेलामा झाडापखाला लागि रहन्छ । घण्टौँ लगाएर ल्याएको खोला र खोल्साको पानी पिउन योग्य नभएको उहाँको भनाई छ ।

‘एक घर एक धारा’ भन्ने स्थानीय सरकारको नीति तथा कार्यक्रम भएपनि यहाँका उपभोक्ताले पहिलो स्थानीय सरकारको कार्यकालमा अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।

दुधौली नगरपालिकामा नव निर्बाचित मेयर दिनेश अधिकारीले स्थानीय सरकारको नीति तथा कार्यक्रम ‘एक घर एक धारा’ लाई कार्यान्वयनमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या कति भुगोल, समुदायमा छ ? यसको सम्भाव्यता अध्ययनका साथै डिपिआर तयार गरेर जति सक्दो चाँडै नगरभित्र देखिएको खानेपानीको समस्याहरु समाधान गर्ने छौँ ।”

प्रतिक्रिया