शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणको आकाशमा उड्यो प्यारामोटर, सिन्धुलीका राजुः दर्जन सामाग्रीका आविष्कारक (भिडियो)

सोमवार , आषाढ १३, २०७९

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ४, साङ्बालेका ३० वर्षिया राजु थापा झण्डै दर्जन सामाग्रीका निर्माता हुनुहुन्छ । आकाशमा उड्ने प्यारामोटरदेखि माछाको कत्ला खुईलाउने मेसिन निर्माण गरिसक्नुभएका थापाले विदेशको लोभलाग्दो जागिर छोडेर अहिले स्वदेशमै केहि गर्ने जोश सहित विभिन्न सामाग्रीहरु आविष्कार गरिरहनुभएको छ ।

थापाले हालसम्म बाँसको छड्कन बनाउने, माछाको कत्ला खुइलाउने र मुढाको सिन्का बनाउने मेसिन निर्माण गरिसक्नुभएको छ । साथै, उहाँले आकाशमा एक्लै उड्न मिल्ने प्यारामोटर निर्माण गरि मरिण नदीको बगरमा उडाएर परीक्षण गरिसक्नुभएको छ । स्थानीय श्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर नौँ सय फिट माथिसम्म उडाएको थापाले बताउनुभयो । परीक्षण स्वरुप उडाएको प्यारामोटरलाई थापाले करिब ७ मिनेटसम्म आकाशमै घुमाउनुभएको थियो । उक्त प्यारामोटरमा तीनवटा चक्का समेत भएकोले प्यारासुट नहाली सडकमा गुडाउन पनि सकिनेछ । थापाले दुई जना चढ्न मिल्ने मिनी एयरक्राफ्ट निर्माण गर्न आफूले गृहकार्य गरिरहेको बताउनुभयो । आन्तरिक पर्यटनको प्रबद्र्धनकालागि प्यारामोटरले सघाऊ पुर्योउने र भारतबाट आयात गर्दा चर्को मूल्य पर्ने भएकाले आफैँले निर्माण गरेको थापाले बताउनुभयो ।

झण्डै सात वर्ष साउदि अरबमा बसेर नेपाल फर्किनुभएका थापालाई स्वदेशमै प्रतिभा प्रस्फुटन गर्न राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार एवं अध्यक्ष डा. महाविर पुनले हौसला बढाउनुभएको थापाले बताउनुभयो । कोभिडको महामारी विश्वभर फैलिरहदा नेपाल फर्किनुभएका थापाले पुनलाई भेटेपछि स्वदेशमै बस्ने योजना बनाउनुभएको स्मरण गर्नुभयो । पुनले हौसला बढाएपछि विदेश नफर्किने र स्वदेशमै केहि गर्ने इच्छाशक्ति जागेको थापाले बताउनुभयो ।

पुनको आविष्कार केन्द्र नेपाली युवाकालागि आविष्कार गर्न दिने प्लेटफर्मका रुपमा स्थापित भएको छ । त्यहि प्लेटफर्मलाई सदुपयोग गर्दै थापाले आविष्कार केन्द्रको साथ पाएपछि व्यवसायिक रुपमै अघि बढ्नु भएको छ । केन्द्रका अध्यक्ष पुनले शुक्रबार थापाको आविष्कारलाई सामाजिक संजालमा सार्वजनिक गर्नुभएको थियो । माछाको कत्ला खुइल्याइरहेको मशिनको भिडियो सार्वजनिक भएपछि थापाले आविष्कार गरेको मशिनको माग बढेको छ । उक्त मशिनको मूल्य एक लाख ८० हजार रहेको पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा धेरै माछा बेच्ने पसलेहरुले अनुरोध गरेको हुनाले बनाइएको हो । घरको लागी यति ठुलो मशिन चाहिन्न । यो मशिन पुरै स्टीलबाट बनेका छन् । यसले प्रति घन्टा ४०० किलो सम्म माछाको कत्ला खुइल्याउन सक्छ । यसमा १००० ह्वाटको मोटर जडान गरिएको छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया