शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने छु : मेयर उपेन्द्र पोखरेल

आइतवार , आषाढ १२, २०७९

सिन्धुली – कमलामाई नगरपालिकाले उत्पादनमुखी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरको उत्पादनमुखी कार्यक्रमले युवालाई रोजगारीसँग जोड्ने छ । नगरवासी युवा, महिला, बालबालिका तथा लक्षित समुहका लागि आयमूलक कार्यक्रममा जोड्ने पहिलो प्राथमिकता छ । सँगै दिर्घकालीन सडक निर्माणका जस्तै नगरपालिकाका सबै सडक कालोपत्रे हुने गरि र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तता दिने योजना छ । सफाखानेपानी, शिक्षा र स्वास्थ्यलाई विषेश जोड दिने छौँ । नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।

अहिले नगरपालिकामा वितरण भइरहेको धाराको पानी पिउन योग्य छैन । विभिन्न मुहानबाट वितरण भइरहेको धाराको पानी पिउनयोग्य छैन । हाल वितरण गरिएका मुहानको पानीलाई पाँच वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने मेरो योजना छ । नगरबासीको आवश्यकताको आधारमा काम गर्ने म प्रतिवद्धता गर्दछु । नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने छु, आजको विकासलाई होइन दिर्घकालीन विकासलाई जोड दिने छु । विगतमा नगरपालिकाको सबै ठाउँमा सम्मान विकास भएको छैन । त्यसले गर्दा जनता निराश भएको देख्निछ । मेरो कार्यकालमा सम्मानरुपले विकास निर्माणका काम गर्ने छु ।

बैशाखमा म निर्वाचित भएर नगरपालिका आएसँगै कर छुट गरेको छु । अनुत्पादिक क्षेत्रमा जनताले तिरहेका कर छुट गरिएको छ । सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्राहलय अवलोकनमा ५० प्रतिशत छुट र समाचार संकलनका लागि जाने पत्रकारलाई निशुल्क प्रवेश गर्ने दिने निर्णय भएको छ । आगामी दिनमा नगरवासीको आवश्यकताको साथै मागको आधारमा करको दायरा फराकिलो बनाउँदै लगिने छ । बढीभन्दा बढी स्रोतको व्यवस्थापन गरेर नगरवासीको चाहना पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौँ । नगवासीको त्यति ठूलो चाहना छैन । नगरका सबै सडक कालोपत्रे होस्, सफा होस्, सार्वजनिक स्थानमा शौचालय होस्, शुद्ध खानेपानी धारामा आओस् भन्ने नै छ ।

हरेक सडकलाई कालोपत्रे बनाउन तत्काल सम्भव नहोला । भएका सडकलाई सफा बनाउन सकिन्छ, शौचालय बनाउन सकिन्छ । खानेपानीको पनि व्यवस्थापन गर्न सकिन्छ । घरेलु उद्योग, मझौला उद्योग, आफैले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको थलो हुनेछन् । नगरबासीलाई उद्यमशील र स्वावलम्बन बनाउने सोच अगाडि सारिसकेका छौँ । बेरोजगारीको तथ्यांक लिने र कहाँ कसरी दक्ष जनशक्ति बनाउने भनेर कामहरू गरिनेछ ।

नगरवासीलाई दक्ष बनाएर रोजगारीमा आबद्ध हुने वातावरण बनाउन लाग्नेछौँ । नगर कृषिको उर्वर भूमि हो । तरकारी खेती, पशुपालन, पोल्ट्री फार्म, केराखेती, माछापालनजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्नेछौँ । कृषिमा किसानलाई प्रोत्साहन गर्ने नीति तथा बजेटहरू बनाएका छौँ । कृषिमा युवाहरूलाई व्यावसायिक रूपमा लाग्ने बनाउन ब्याज अनुदानका कार्यक्रम, विदेशको सीप, स्वदेशमा लगानीजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ । स्पष्ट कार्यविधि बनाएर रोजगारी सिर्जना गर्न लाग्नेछौँ ।

निर्वाचनका बेला जाँदा बेरोजगारीको ठूलो समस्या देखिएको छ । बेरोजगारी घटाउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरेको छु । अब तीनै तहका सरकारले यसलाई योजनाबद्ध ढंगबाट काम गर्नुपर्छ । विगतमा सञ्चालन गरिएका प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी र युवाहरूलाई लाभ हुने गरी सोच्नुपर्ने देखिन्छ । यहाँका जनताको स्वास्थ्य सुविधाका लागि कम्तीमा एक स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्ने तथा एम्बुलेन्स सेवालाई सुलभ र प्रभावकारी बनाउनेछौँ । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा लिन जान÷आउन निकै समस्या भएको कुरा चुनावी दौरानका क्रममा सुनाउनुभएको छ, त्यसलाई समाधान गरेर कम्तीमा वडाबाटै वितरण गर्ने व्यवस्था मिलाउनका लागि मेरो प्रयत्न हुनेछ ।

प्रतिक्रिया