शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका सात स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट

शनिवार , आषाढ ११, २०७९

सिन्धुली, – सिन्धुली जिल्लाका नौ वटा स्थानीय तह मध्ये सात वटाले शुक्रबारसम्म आगामी आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् ।

हरिहरपुरगढी गाँउपालिकाले तयारी नपुगेकाले शुक्रबार आगामी आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । गाँउपालिका उपाध्यक्ष चेखबहादुर थिङले असार १५ गते उक्त नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरिने जानकारी दिनुभयो ।

गोलन्जोर गाँउपालिकाले भने विवादका कारण शुक्रबार उक्त कार्यक्रम ल्याउन नसकेको जनाएको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधबकुमार अधिकारीका अनुसार शुक्रबार बसेको गाँउ कार्यपालिका बैठकले असार १३ गते उक्त कार्यक्रम र बजेट ल्याउने सहमति भएको छ ।

गाँउ कार्यपालिकाको बोर्ड (समिति)मा बहुमतमा रहेका नेपाली काँग्रेसका सदस्यले जेठ १६ गतेको गाँउ कार्यपालिकाको निर्णय खारेज गरेर मात्रै उक्त नीति तथा कार्यक्रम र बजेट ल्याउने पर्ने अडान राखेपछि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्बजनिक हुन नसकेको उहाँले बताउनुभयो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा नेकपा एमालेका उमेदवार शंकर बराल गाँउपालिका अध्यक्षमा निर्बाचित भएपछिको पहिलो बैठकले यसअघि नेपाली काँग्रेस निकट गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले पालामा भएको गाँउपालिकाको प्रशासकिय भवन निर्माणका लागि टेण्डर आह्वान गर्ने लगायतका निर्णय रद्ध गरेको थियो ।

बाँकी सात वटा स्थानीयत तहले नीति तथा कार्यक्रमसँगै पाच अर्ब ४७ करोड ९७ लाख रुपैंया“को हाराहारीमा बजेट आ–आफ्नो नगर र गाँउसभामा प्रस्तुत पेश गरेका छन् । यो बर्ष स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र भौतिक पुर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय तहले वस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा बजेट निर्माण गरिएको जनाएका छन । उनीहरुले महिला, दलित, जनजाती, अपांगता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटेका छन् । कमलामाई नगरपालिकाले कृषि क्षेत्रको ब्यबस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

‘नगर उप–प्रमुखसंग कृषक भेटघाट’ कार्यक्रम सञ्चालन, बाली एम्बुलेन्स सञ्चालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर उपेन्द्रकुमार पोख्रेलले बताउनुभयो ।

कृषिलाई व्यवसायिकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, सङकलन केन्द्र, सामुदायिक खेती तथा कृषि यान्त्रिकरण विकास गर्ने नीति लिइएको मेयर पोखरेलले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रमस“गै एक अर्ब ३४ करोड ७६ लाख रुपैंया बजेट प्रस्तुत गरेको छ । दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब १२ करोड ३२ लाख ९० हजार ४२३ रुपैया बजेट प्रस्तुत गरेको छ । मरिण गाँउपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रमस“गै ६३ करोड २३ लाख ३३ हजार आठ सय रुपियाको बजेट साबर्जनिक गरेको जनाएको छ ।

सम्बन्धित स्थानीय तहका अनुसार नीति तथा कार्यक्रमसँगै सुनकोशी गाँउपालकाले करिब ६० करोड रुपैया, फिक्कल गाँउपालिकाले ५२ करोड ७४ लाख ७५ हजार रुपैया, तीनपाटन गाँउपालिकाले करिब ७७ करोड रुपिया, घ्याङलेख गाँउपालिकाले ४८ करोड रुपियाको हाराहारीमा बजेट सार्बजनिक गरेको जनाएको छ ।

सुनकोशी गाँउपालिका अध्यक्ष दिपा बोहोराले स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै वडा नं. ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैय्याको अस्पताल निमार्णको लागि डिपिआर तयार भई स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाईएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “गर्भवती महिलाको परिक्षण र पोषणा सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिईने छ । शिक्षा तर्फ गाउँपालिका भित्र एक आवासीय विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने छ । विपन्न एवं जेहेनदार छात्रछात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।”

प्रतिक्रिया