सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका देवराज घलान तिन दिन देखि भाईको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाइरहनु भएको छ । तिन दिन वित्ति सक्दा समेत घलानले भाईको नागरिकता बनाउन नसकेको गुनासो गर्नु हुन्छ । “तिन दिन भयो नागरिकता बनाउन जिल्ला प्रशासन आएको । मान्छे धेरै भएकाले पालो आउनै दुई दिन लाग्ने । आज पनि नागरिकता बन्दैन जस्तो छ । अझै कति दिन लाग्ने हो ,” घलानले भन्नुभयो ।
प्रशासनमा नागरिकता तथा पासपोर्ट बनाउनेको भिड बढे सँगै घण्टौँ कुरेर नागरिकले सेवा लिरहेका छन् । गोलन्जोर गाउँपालिकाका कविता नेपाली आफ्नो बहिनीको पासपोर्ट बनाउन जिल्ला प्रशासन धाएको २ दिन वित्ति सकेको गुनासो गर्नु हुन्छ । दुइ दिन देखि बहिनिको पासपोर्ट बनाउन धाएकी नेपाली भन्नुहुन्छ, “आज सम्म दुइ दिन भयो । हिजो देखि आफ्नो पालो कुरेर बसिरहेको छु । आज पनि पालो आउँदैन जस्तो छ । कति दिन लाग्ने हो थाहा छैन । मान्छेको भिड पनि उस्तै छ । म जस्ता सयौँ मान्छे कति पालो कुरिरहेका छन् ।”

जिल्ला प्रशासन बाट प्रवाह हुने सेवा व्यवस्थित नभएको कारण दिनहुँ धाउनु परेको प्रशासनमा नागरिकता बनाउन आएका एक सेवा ग्राहिले गुनासो गर्नुभयो । “यहाँ चिनेजानेका मान्छेको काम छिटो हुन्छ । हाम्रो काम भने कहिले के मिलेन कहिले के मिलेन भनेर रोक्दिन्छन् । दुइ दिन देखि धाउँदा समेत अझै काम भएको छैन ” उहाँले भन्नुभयो ।
यस्तै कमलामाई नगरपालिकाकी सुमित्रा कार्की पनि छोरीको नागरिकता बनाउन विहान देखि प्रशासनमा पालो कुरिरहेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवाग्राहीको चाप बढेको छ । दसैँ सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहीको चाप बढेको हो । सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानलेले बताउनुभयो । उहाँका अनुसार डिभी भर्न र वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको चाप बढेको छ । कार्यालयमा कर्मचारीको अभाव भएका कारण पनि सेवा प्रवाहमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
अहिले दैनिक एक सय देखि दुइ सयको संख्यामा नागरिकले नागरिकता बनाएका छन् भने सय देखि एक सय पचासको संख्यामा पासपोर्ट बनाइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि रिद्धि प्रकाश सिटौलालले बताउनुभयो । कार्यालयमा आएका सेवाग्राहीलाई छिटो र सहज तरिकाले सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । “नागरिकलाई छिटो सेवा दिनका लागि हाम्रो सबै कर्मचारी नागरिकको काममा लगाएका छौँ । साथै थप सहयोगका लागि प्रहरी पनि खटाइ व्यवस्थित रुपमा सेवा दिरहेका छौँ । टोकन स्टिम लागु गरेर हामीले व्यवस्थित तरिकाले सेवा प्रदान गरिरहेका छौँ ,” सिटौलाले बनाउनुभयो ।