सिन्धुली, – सिन्धुलीको तीनपाटन गाँउपालिकाका नबनिर्बाचित अध्यक्ष कर्णबहादुर थापामगरले अबको आफ्नो कार्यकालमा हिजोको अधुरा कामलाई पुरा गर्ने बताउनु भएको छ ।
उहाँले कृषि, शिक्षा, स्वास्थय र सडक लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्नै बताउनुभयो । उहाँ यसअघि २०७४ सालको स्थानीय तहको निर्बाचनमा तीनपाटन गाँउपालिकाको अध्यक्षमा पहिलो पटक निर्बाचित हुनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘नागरिकको अपेक्षा बिकास चाहियो, रोजगारी चाहियो भन्ने छ । बेरोजगारी समस्या बढ्यो । मँहगी बढेको छ, आम्दानी छैन । रोजगारी सिर्जना गर्नु पर्छ भन्ने छ । त्यसका लागि कृषिलाई नै प्राथमिकता दिएर व्यवसायिकरण गरी गाँउघरमा नै रोजगारी सिर्जना गर्ने लक्ष्य छ । नागरिकको अपेक्षा पनि रोजगारी चाहियो भन्ने छ ।’
गाँउपालिकाभित्र शिक्षा क्षेत्रमा सुधार गर्न गुरु योजना बनाएर अघि बढ्ने र स्वास्थ्य क्षेत्रमा जति पनि सेवा दिईएको छ, कर्मचारी पठाएर औषधि उपचारलाई अझ व्यवस्थित र सहज बनाउने योजना रहेको उहाँको भनाई छ । गाँउपालिका अध्यक्ष थापामगरका अनुसार जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि गाँउपालिकाको केन्द्रलाई पक्कि सडकले जोड्ना दुई बर्षदेखि भई रहेको छ ।
‘जिल्ला सदरमुकामदेखि जिर्घासम्म १४ किलोमिटर सडक जिएस कम्पनिले ठेक्का लिएर दुई बर्षदेखि कालोपत्रे गर्न काम भई रहेको छ । तर कामले गति लिन सकेको छैन । ताकेता गरि रहेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यो भन्दा अगाडी चार किलोमिटर सडकको पनि स्तरउन्नतीको काम भई रहेको छ । त्यो भन्दा अघिदेखि चकमकेसम्म १० किलोमिटर सडक पनि कालोपत्रे गर्न ठेक्का लागि सकेको छ ।’
सिन्धुलीमाढीदेखि चकमकेसम्म २८ किलोमिटर सडक दुई बर्षभित्र कालोपत्रेसहित निर्माण पुरा गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
गाँउपालिकाभित्र राष्ट्रिय सडक बनिरहेको र वडा वडामा बनि रहेका भित्री सडकको स्तरउन्नती गरी दिगोपना दिएर बाह्रै महिना यातायात चल्न सक्ने बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार पालिकाभित्र तीनपाटन फाँट अन्न भण्डार रहेको छ । उक्त फाँट चँदाहाखोला कटानको चपेटामा बेला बेलामा पर्दै आएकाले नदि नियन्त्रण गरी व्यवस्थित गरिने योजना रहेको छ ।