सिन्धुली,– सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा बिमानस्थल बन्ने भएपछि स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल काठमाडाँैले उक्त स्थानमा कमलमाई बिमानस्थल आयोजनाको बाताबरण प्रभाव मूल्यांकन सुरु गरेसँगै स्थानीय उत्साहित भएका छन् । प्राधिकरणले मङगलबार कमलमाई बिमानस्थल आयोजनाको बाताबरण प्रभाव मूल्याङकन प्रतिबेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धि सार्बजनिक सूचना प्रकासित गरेको छ ।
उक्त स्थानमा कमलमाई बिमानस्थल निर्माणका लागि डिपिआर तयार भई सकेको र अहिले बाताबरण प्रभाव मूल्यांकन गर्ने कार्य भई रहेको प्राधिकरणको उप–प्रबन्धक समृद्धी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिला बाताबरण प्रभाव मूल्याङकनको काम सकिनु प¥यो, त्यसपछि बिमानस्थल निर्माण सुरु हुने हो ।’
कमलमाई बिमानस्थल आयोजनाको बाताबरण प्रभाव मूल्याङकन गर्न परामर्शदाता र्याफ्ट् कन्सल्ट्यान्ट प्रा.लि. त्रिपुरेश्वरले जिम्मेवारी पाएको छ । उक्त कन्सल्ट्यान्टका बाताबरण ईन्जिनियर अभिषेक बिसीले बाताबरण अध्ययन सकिन छ महिना समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त बिमानस्थल निर्माणका लागि डिपिआर तयार भई सकेको छ । बाताबरण अध्ययन मात्रै बाँकी रहेको छ ।’
बाताबरण अध्ययन अन्तर्गत पहिलो चरणमा क्षेत्र निर्धारण अध्ययन भई रहेको र क्षेत्र निर्धारण अध्ययनको प्रतिवेदन वन तथा बाताबरण मन्त्रालयबाट स्वीकृत भएपछि बिस्तृत बाताबरण प्रभाव मूल्याङकन गरिने उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार कमलामाई नगरपालिका–८ को करकरे र सिस्नेरीको बीचमा रहेको कमला नदीको बगरको ४५ दशमलब पाँच हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण हुने छ । बिमानस्थलको धावन मार्ग, ट्याक्सी मार्ग, एप्रोर्न, बिमानस्थल टर्मिनल, स्टाफ क्वाटर लगायतका संरचना निर्माण गर्न बाताबसण प्रभाव मूल्याङकनको कार्य भएको हो ।
स्थानीय बासिन्दा तथा कमलामाई नगरपालिकाका बाताबरण शाखाका प्रमुख सागरकुमार ढकाल बिमानस्थल निर्माण प्रकृया अघि बढेकोले जिल्लाबासी उत्साहित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘बिमानस्थल बन्यो भने साह्रै राम्रो हुन्छ । बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग त्यही ठाँउ हुदै निर्माण भएको छ । तराईका जिल्ला, भारत र काठमाण्डौसँग नजिक भएकाले बिमानस्थल निर्माणको संभावना निकै राम्रो छ । सिस्नेरीमा बिमानस्थल निर्माण भयो भने भारतीय पर्यटक समेत धेरै आउछन् ।’
उक्त बिमानस्थलले सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने उहाँको बुझाई छ । एक हजार छ सय मिटर लामो र ३० मिटर चौडाई भएको धावनमार्ग निर्माण गरिन जनाईएको छ । विमानस्थल निर्माण स्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट छ किलोमिटर दुरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ ।
कमलामाई विमानस्थल काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ८५ किलोमिटर, सिमरा विमानस्थलसम्म ९५ किलोमिटर र लुक्ला विमानस्थलबाट ९९ किलोमिटर दुरीमा पर्दछ । सिन्धुली जिल्ला हुदै राजधानी काठमाण्डौं, मध्य तराईकासाथै पूर्वी र मध्यपहाडी जिल्ला जोड्ने तीन ठुला राजमार्गहरु निर्माण भएपछि जिल्लामा स्थानीय बासिन्दाले एक दशकभन्दा बढीदेखि विमानस्थल निर्माणको माग गर्दै आएका थिए ।