सिन्धुली – सिन्धुलीमा मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ४ मल्लगाउँबाट हराएको मोटरसाइकल खोजी गर्दा कमलामाई नगरपालिका १ बाट हराएको मोटरसाइकल पनि फेला परेको छ ।
मल्लगाउबाट यही जेठ १५ गते हराएको प्र.२ ०२–००२ प ३८७३ नं. मोटरसाइकल चोरी गर्ने कमलामाई नगरपालिका ४ कै २० वर्षीय संजिब बि.क र २१ वर्षका साजन बि.क पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेकालाई सिन्धुली जिल्ला अदालतमा पेस गरी दिन ७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । दुधौलि न.पा.१ का ईश्वर अधिकारीले निवेदन दिएको अनुसार मोटरसाइकल खोजी गर्ने क्रममा महोत्तरी बर्दिबास नगरपालिका ४ ठुलो दमार स्थित भप्सि खोला बेवारिसे अवस्थामा फेला पारिएको उहाँले जानकारी दिनुभयो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्दा संजिब र साजनलाई प्रहरीले असार ३ गते पक्राउ गरेको थियो ।
उनीहरूलाई सोधपुछ गर्दा बर्दिबास नगरपालिका ४ का ३० वर्षीय शुक्र थिङ पनि चोरीमा संलग्न रहेको पाइएपछि शुक्रलाई कमलामाई नगरपालिका १ श्वारा बस्ने देवी बहादुर विश्वकर्माको प्र.२–०२–००४ प २२७८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यही जेठ १७ गते श्वाराबाट मोटरसाइकल चोरी भएको थियो ।