बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

घरमै सामाजिक सुरक्षा भत्ता आउने भएपछि मरिणका ज्येष्ठ र अपांग नागरिक मख्ख

आइतवार , जेठ २९, २०७९

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको छ । बैंकबाट भत्ता लिदैँ आएका ज्येष्ठ नागरिक र अपांगता भएका लाभग्राहीले गाउँपालिकाको निर्णयलाई स्वागत गरेका छन् ।

गाउँपालिका स्तरीय सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालि सुदृढीकरण आयोजना समन्वय समितिको बैठकले उक्त निर्णय गरेपछि अपांग र वृद्धवृद्धाहरु खुशी भएका हुन् । यसअघि गाउँपालिकाले वडा नं. ६ मा रहेको राष्ट्रिय वणिज्य बैंक कपिलाकोट शाखाबाट भत्ता वितरण गर्दै आएका थियो । अब भने ९० बर्ष भन्दा माथि र पूर्ण रूपमा अपांगता भएका र अन्य लाभग्राहिहरूलाई घरदैलोमै पुगेर भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष विर्मश मुक्तान ‘प्रख्यात’ले बताउनुभयो । बैंकिङ प्रणाली मार्फत बैंकमा भौतिक रूपमा नै उपस्थित भई भत्ता बुझ्नुपर्ने बाध्यता चालु आ.व. २०७८÷०७९ को चौथो त्रैमासिक देखि नै हट्ने अध्यक्ष प्रख्यातले बताउनुभयो ।

मरिण गाउँपालिका १ का ९१ वर्षिया भद्रा माझीले अब सामाजिक भत्ता लिन दुई घण्टाको बाटो हिँडेर बैंक जान नपर्ने भएपछि नवनिर्वाचित अध्यक्षलाई धन्यवाद दिनुभयो । ‘भत्ता लिनकालागि बिहानै ८ बजेनै घरबाट हिँड्नुपर्ने हुन्थ्यो । बैंक पुग्दासम्म एक मुठ्ठी सास मात्रै बाँकी रहन्थ्यो । उत्साहित हुदैँ माझीले भन्नुभयो, ‘अब सजिलो हुने भयो ।’ भद्रा जस्तै सयौँ वृद्धवृद्धाहरु गाउँपालिकाको निर्णयप्रति खुशी छन् । मरिण गाउँपालिका ३ कि दृष्टिविहिन सबिता मगर बैंक पुग्न मुश्किल हुने गरेको पिडा सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘म जस्तो अपांगता भएकालाई ६ नम्बर वडामा पुग्न घण्टौँ लाग्छ । वडा स्तरमै भत्ता वितरण हुनेभएपछि भत्ता लिन लाग्ने समय अन्य काममा सदुपयोग गर्नेछु ।’

भत्ता लिने ठाउँसम्म पुग्दा धेरै पैसा खर्च हुनेगरेको ९२ वर्षिया सोम बहादुर रम्तेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्याम्पो देखि खाजा खर्चले नै भत्ताको केहि पैसा खर्च हुने गरेको थियो । अब भने चार हजारनै हातमा आउने भयो ।’ नवनिर्वाचित जनप्रतिनिधिले शुरुवाति दिनमै वृद्धवृद्धा र अपांगता भएकालाई प्राथमिकतामा राखेर राम्रो काम गरेको बताउदैँ रम्तेलले आगामी दिनमा पनि सो समूहलाई सेवासुविधा दिलाउनमा जनप्रतिनिधि लाग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कसले पाउँछन् सामाजिक सुरक्षा भत्ता ?: पञ्जिकरण विभागकाअनुसार अहिले जेष्ठ नागरिक ७० वर्ष उमेर पुगेकाहरुलाई ४ हजार, अन्य जेष्ठ नागरिक भनेर ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाका नागरिक र देशभरीका दलित नागरिकलाई २ हजार ६६० रुपैयाँ वितरण हुँदै आएको छ ।

एकल महिला विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकालाई पनि २ हजार ६६० रुपैयाँ वितरण गरिन्छ भने विधवा भत्ताको रुपमा जुनसुकै उमेरका लागि मासिक २ हजार ६६० रुपैयाँ वितरण गरिन्छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्तापाउने उमेर बाहेक अन्य कुनै प्रावधानमा परिवर्तन गरेको छैन् ।

यस्तै पूर्ण अपाङ्गता भएकाहरुका लागि ‘क’ वर्गका लागि मासिक ३ हजार ९९० रुपैयाँ र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि मासिक २ हजार १२८ रुपैयाँ दिइन्छ । यस्तै लोपोन्मुख आदिवासी र जनजातिका लागि मासिक ३ हजार ९९० रुपैयाँ र बालबालिका उपशीर्षकमा नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५३२ रुपैयाँ वितरण हुँदै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया