सिन्धुली– तिनपाटन गाउँपालिका ४ कि अनिता परियार सिलाइबुनाइ तालिमपछि आफैँले व्यवसाय सुरु गर्ने बताउनुहुन्छ । तिनपाटन गाउँपालिका ११ चकमकेमा सिलाइबुनाइको तालिम लिन आउनुभएको परियार तालिम पछि व्यवसाय सुरु गरेर आफुजस्तै अन्य महिलालाई रोजगारी दिने योजना बनाएको सुनाउनुभयो । उमेरले भर्खरै २२ लाग्नुभएको उहाँले आर्थिक अभावको कारण छोराछोरी पढाउन विभिन्न ठाउँमा काम गरेको अनुभव सुनाउनुहुन्छ । ‘काठमाडौँ सहरमा ज्यालामजदुरी देखि लिएर सबै काम गरियो, राम्रो काम पाउन पढाइ छैन, आफुसँग केहिको सिप पनि छैन । काम पाउनै मुस्किल ।’ उहाँले भन्नुभयो । आफुसँग कुनै सिप नभएका कारण बेरोजगार हुनुपरेको गुनासो गर्दै उहाँले सिप सिकाउन सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो । साथै, परियारले सिलाईबुनाइको सिप सिकेपछि रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो ।
तिनपाटन गाउँपालिका ७ का कमल बयलकोटीपनि मोबाइल रिपोरिङ तालिम लिएपछि व्यवसाय सुरु गर्ने योजना बनाएको बताउनुहुन्छ । ‘तालिम पछि आफैँले मोबाइल पसल खोल्ने योजना बनाएको छु । मोबाइल पसल खोल्न सकिन भने पनि सिप सिकेपछि अन्य ठाउँमा सजिलै काम पाउनेछु ।’ उहाँले भन्नुभयो । सिप नभएका कारण राम्रो अवसर धेरै गुमेको उहाँले गुनासो गर्नुभयो । निशुल्क सिप सिक्न पाउँदा खुसि व्यक्त गर्दै उहाँले आयोजकलाई धन्यवाद समेत दिनुभयो ।
तिनपाटन गाउँपालिका ११ चकमकेमा आइतबार देखि तीन महिने सिप विकास तालिम सुरु भएको छ । सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजनको साझेदारीमा चकमकेमा निशुल्क सिलाईबुनाइ, ब्यूटिपालर र मोबाइल रिपेरिङ सम्बन्धी तीन महिने तालिम सुरुभएको हो । बेरोजगारी साथै आर्थिक अवस्था कमजोर भएका व्यक्तिको लागि तालिम आयोजना गरिएको सिड्स नेपाल सिन्धुलीका कार्यक्रम व्यवस्थापक नारायन पाण्डेले बताउनुभयो । २०५१ सालमा स्थापना भएको सिड्स नेपालले साझेदार संस्थाहरुसँग साझेदारि गर्दै विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । सिड्स नेपालले जिल्लामा जिविकोपार्जन, पोषण, शिक्षा, विपद व्यवस्थापन लगाएत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
वल्र्ड भिजन इन्टनेशनल नेपालको सहयोगमा जिल्लाको तिनपाटन, गोलन्जोर र फिक्कल गाउँपालिकाका ५५ सय दर्ता भएका बालबालिकाको समृद्धिका लागि सिड्स नेपाल र रिलिफ नेपालले काम गरेको पाण्डेले बताउनुभयो । ‘पोषण तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत जिविकोपार्जन कसरी गराउने साथै बालबालिकालाई कसरी समृद्ध बनाउने विषयमा सबै भन्दा पहिले घर सक्षम हुन जरुरी छ । त्यसैले हामीसँग सिप हुनुपर्दछ, सिपले कमाएर खाने बाटो गर्ने र त्यहि कमाएर परिवारलाई संचालन गर्ने भन्ने उदेश्यले कार्यक्रम संचालन गरेको हो ।’ उहाँले भन्नुभयो ।
यस्तै, तिनपाटन गाउँपालिका १० का वडा अध्यक्ष पूर्णहरि भुजेलले तालिम अवधिभर उत्साहपूर्ण सहभागि भएर सिप सिक्न सम्पूर्णलाई आग्रह गर्नुभयो । साथै, उहाँले सिप सिकेर आफ्नै व्यवसाय गर्ने सकियो भने जिविकोपार्जनमा सहयोग मिल्ने बताउनुभयो । तिनपाटन गाउँपालिकाका बेरोजगार व्यक्तिलाई सो तालिम आम्दानीको श्रोत बन्ने उहाँले बताउनुभयो । सिप सिकेर परिक्षामा उतिर्ण हुने व्यक्तिलाई सिटिभिटिबाट मान्यता प्राप्त प्रमाण पत्र समेत उपलब्ध गराइने छ ।