सिन्धुली,– सहकारीमा लागेपछि सुनकोशी गाँउपालिका–६ सित्तलपाटी निवासी कमला माझीको उन्नती मात्रै होईन सामाजिक सम्मान पनि बढेको छ ।
सहकारीमा आबद्ध भएर बचत गर्न थालेपछि आर्थिक सुधारसँगै परिवार र समाजमा सम्मानित व्यवहार पाएको उहाँले बताउनुभयो । चार बर्षअघिसम्म पाँच रुपैया जुटाउन पनि उहाँलाई हम्मे हुन्थ्यो । “आफ्नो आम्दानीको एक सुको थिएन,” उहाँले भन्नुभयो, “श्रीमानसँग हात जोड्नु बाहेक अर्को उपाय थिएन । गाँउकै ज्योति महिला बचत तथा ऋण सहकारीबाट ३० हजार ऋण लिएर लिएर सुरु गरेको सामान्य कस्मेटीक पसलबाट मेरो उन्नतीको दिन सुरु भयो ।”
अहिले कस्मेटिक पसललाई बिस्तार गरि किराना पसलको समान पनि राखेको र मासिक कमाई पनि ३० हजार रुपैया कमाई(नाफा) हुने गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सुनकोशी गाँउपालिका–३ झाँगाझोली रातमाटाकी सरस्वती चौलागाई पनि एक दशक अगाडीसम्म गाँउमा एक हजार रुपैया ऋणसम्म कसैले पत्याउदैन थिए । “कुनै समय ससुराले लिएको १० हजार तिर्नका लागि ऋण नपाएर रोएको थिए, आज सहकारीले सहजै ऋण दिएको देख्दा मनको खुसी पोख्ने स्थान नै छैन,” उहाँले भन्नुभयो, “चार बर्षअघि महिलाहरुकै सक्रियतामा गाँउमा खुलेको दिपमाला महिला बचत तथा ऋण सहकारी संस्थामा अबद्ध भई तरकारी खेती गर्न सुरु गरेपछि मेरो उन्नतीको बाटो खुल्यो ।”
अब १० हजार रुपैया होईन, एक लाख ऋण लिनु र दिनु सरस्वतीका लागि सामान्य बनेको छ । उहाँले भन्नुभयो, “सहकारीबाट सुरुमा १० हजार ऋण लिएर तरकारी खेती गर्न थालेपछि त्यहि १० हजारले लाखौ आम्दानी गर्ने बाटो देखायो । मेहनतको फल पनि मिठो हुन्छ, आलु बेचेर मात्र मैले डेढ लाख कमाएको छु ।”
पछिल्लो समय सिन्धुलीको ग्रामीण क्षेत्रका गाँउ–गाँउमा खुलेका सहकारीले महिलाको जीवनमा कायापलट नै ल्याएको छ । विभिन्न सिामाजिक संघ संस्थाले सहजिकरण गरेर जिल्लाका स्थानीय तहका विभिन्न २० भन्दा बढी ठाँउमा खुलेका सहकारीमा आबद्ध महिलाहरु अधिकांश व्यवसाईीक बनेका छन् । गाँउमै रहेको सहकारीले सहजै ऋण दिन थालेपछि महिलाहरुलाई व्यवसाईीक बन्न सजिलो भएको हो ।
बाख्रा पालन गरेर सहकारीमा आयस्रोत जुटाउदै आउनु भएकी कमलामाई नगरपालका–३ चपौलीकी दुर्गा कार्की आर्थिक रुपमा परिवारलाई समेत सघाउन सक्षम भएको बताउनुहुन्छ । सहकारीले महिलाहरुलाई व्यवसाईीक मात्र बनाएको छैन, गाँउमा आफ्नो अधिकार स्थापीत समेत गराएको छ । “पहिले हामी सहकारीको काम छ भनेर सहकारीको बैठकमा हिड्दा गाँउका पुरुषले छाडा महिला भनेर खिल्ली उडाउथे,” उहाँले भन्नुभयो, “अहिले तिनै पुरुषले नमस्कार भन्दा धेरै खुसी लाग्छ,।”
उहाँले पनि गाँउकै जलकन्या महिला बचत तथा ऋण सहकारी संस्थाबाट दश हजार ऋण लिएर बाख्रा पालन सुरु गरि हाल लाखौ रुपैँयाको कारोबार गर्दै आउनु भएको छ ।
सहकारीले परिवारमा आर्थिक सहकार्यको बताबरण सिर्जना गर्ने हुदा घरेलु हिंसा न्युनिकरणमा समेत टेवा पुगेको सदरमुकाम सिन्धुलीमाढीस्थित बरुणदेवी कृषि सहकारी संस्थाकी अध्यक्ष तुलसामाया श्रेष्ठ बताउनुहुन्छ । “हिंसाको एउटा मूल कारण आर्थिक कम्जोरी रहेछ,’ उहाँले भन्नुभयो, ‘सहकारीमा महिला आकर्षण बढेसँगै हिंसा हट्दै गएको महसुस गर्न सकिन्छ ।”
बरुणदेवी कृषि सहकारी संस्था पनि छ बर्षअघि ५२ जना विपन्न महिला मिलेर खोलेका हुन । अहिले उनीहरुको शेयरपुँजी चार लाख ६८ हजार रुपैया र कुल बचत पाँच लाख ८० हजार रुपैया नाघेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।