सिन्धुली– सेभेन समिट फर फिफा वल्र्ड कप अभियान अन्तर्गत सिन्धुलीका नर बहादुर अस्थानी मगरको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । फिफा वल्र्ड कपको ट्रफीको रिप्लिका र २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डा लिएर सात महादेशका सातवटा अग्ला शिखर चुम्ने अभियान अन्तर्गत सिन्धुलीको मरिण गाउँपलिका २ सिन्धुरेदोभान रातमाटाका मगरसहितको ९ जनाको टोलीले सगरमाथाको आरोहण गरेको हो ।
अन्तरराष्ट्रिय माउन्टेन गाईड नर बहादुर अस्थानी मगर, ज्ञान बहादुर तामाङ, विक्रम कार्की, राकेश राना मगर, दिपक महत, मिलन थापा, एक भारतिय नागरिक र एस्पिडिसन टिम लिडर आङदावा शेर्पा, मगरको टोलीले गत जेठ १३ गते सगरमाथाको आरोहण गरेको हो । उक्त टोलीले दोश्रो प्रयासमा ट्रफीको रिप्लिकासहित सगरमाथा आरोहण गरेको लाईसेन्स प्राप्त अन्तर्राष्ट्रिय स्तरको गाईड मगरले बताउनुभयो । पहिलो पटक जेठ ७ गते कुमारी ज्ञानमाला रनपालसहित १० जनाको टोलीले वल्र्ड कपको ट्रफिको रिप्लिका बोकेर सगरमाथा चढ्ने प्रयाग गरेको थियो । तर, आठ हजार चार सय मिटरमा पुग्दा चिसो हावा चल्न थालेपछि रनपालसहित तीनजना आधारशिविर फर्किएको सिन्धुलीका मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘५०० मिटर चढ्न बाँकी थियो । चिसो हावा चलेका कारण एक महिलासहित तीनजना बेस क्याम्पमा फर्किनुभयो । हामी भने समिटमा ट्रफि बिना पुग्यौँ ।’
ट्रफिको वजन झण्डै १० केजि रहेको र अक्सिजन लगायतका सामाग्रीपनि बोक्नुपरेको हुँदा ७ जनाको टोलीले ट्रफि बोकेर लग्न असंभव भएपछि सगरमाथा चढेर फर्किएको मगरले बताउनुभयो । पहिलो प्रयासमा ट्रफि सगरमाथा पु¥याउन नसकेपछि पुनः जेठ १३ गते कुमारी ज्ञानमालाबाहेक ९ जनाको टोलीले ट्रफिसहित सगरमाथाको आरोहण गरेको थियो ।
सातवटा महादेशको हिमाल आरोहणपछि उक्त ट्रफी, झण्डा आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु कतारमा हुने विश्वकपको उद्घाटनमा हस्तान्तरण गर्ने योजना रहेको आयोजकले जनाएको छ । नेपाली खेलकुद र पर्यटनलाई विश्व सामु अझै परिचित गराउने र विश्व जलवायु परिवर्तनका कारण हिमाल पग्लदै गएकोमा यसलाई रोक्नका लागि सन्देश दिन अभियान शुरु गरिएको हो । अभियानले विश्व सामु नेपाली खेलकुद र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने र नेपालीको गौरव बढाउने हुदाँ सम्पुर्ण व्यक्ति, व्यापार, व्यवसायिक कम्पनी, विभिन्न संघसंस्था तथा निकायहरुलाई अभियानका लागि आर्थिक, भौतिक र नैतिक सबैखाले सहयोग गर्नका लागि मगरले अपिल समेत गर्नु भएको छ ।
फिफा विश्वकपमार्फत सबैलाई जोड्र्दै हिमालय क्षेत्रमा विश्व तापक्रममा भएको वृद्धिको प्रभावबारे सचेतना फैलाउने लक्ष्य समेत राखेका उहाँले बताउनुभयो । कोरोनाका कारण खेलकुद, अर्थतन्त्र र पर्यटन क्षेत्रलाई नराम्रो असर गरेको अवस्थामा ती क्षेत्रलाई आफ्नो अभियानले टेवा पुग्ने उहाँको विश्वास छ । विश्वको सबैभन्दा धेरै मानिसहरुको ध्यान अहिले फुटबलमा रहेको भन्दै विश्व शान्तिको लागि नेपालको तर्फबाट आफूहरुले प्रतिनिधित्व गर्न लागेको मगरले बताउनुभयो ।
सिन्धुलीका मगरले नेपालमा पर्यटनसम्बन्धी धेरै विषयको कोर्ष पूरा गर्नुभएको छ । मगरले रसियाको हिमाल र नेपालका विभिन्न उच्च हिमालहरुको आरोहण गरिसकेको बताउनुभयो ।
मगरलाई सम्मान: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुली–काठमाडौँ सम्पर्क समन्वय समितिले सम्मान गरेको छ । जिल्लाको नाम विश्वसामु चिनाउने प्रयासलाई सम्मान गर्दै दोसल्ला सहित सम्मान गरिएको काजिमान थिङले बताउनुभये ।