शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चक्लाबन्दी खेती प्रणाली प्रभावकारी

शनिवार , जेठ २१, २०७९

सिन्धुली, – सिन्धुलीको जिल्लामा पछिल्लो समयमा चक्लाबन्दी खेती प्रणाली प्रभावकारी बन्दै गएको छ ।चक्लाबन्दी खेती प्रणाली अप्नाईएको क्षेत्रमा व्यस्थित कृषि सडक, यान्त्रीकरण, सिंचाई, विद्युत प्रविधि सबै सुविधा उपलब्ध भएको स्थानीय किसानले बताएका छन् । जिल्लामा हाल दुधौली नगरपालिका–२ हत्पतेमा बागमती प्रदेश सरकारको सहयोगमा सहभागितामा आधारित चक्लाबन्दी खेती प्रणाली सञ्चालन भएको छ । त्यस्तै गोलन्जोर गाँउपालिकामा तीन ठाँउमा जुनार खेतीमा उक्त खेती प्रणाली सञ्चालनमा रहेको छ ।

हत्पतेमा चार बर्षअघि बागमती प्रदेश सरकारको तीन करोड ८२ लाख रुपैया सहयोगमा प्रदेशकै पहिलो र नमूना सहभागितामा आधारित सामूहिक खेती (चक्लाबन्दी) प्रणालिको सुरु गरिएको दुधौली नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार चक्लाबन्दी खेती प्रणाली अप्नाईएको क्षेत्रमा व्यस्थित कृषि सडक, यान्त्रीकरण, सिंचाई, विद्युत प्रविधि सबै सुविधा उपलब्ध भएपछि किसान आकर्षित बनेका छन् । उक्त खेतीका लागि स्थानीय सरकार र प्रदेश सरकार बीच सहमति भएको छ । जस अनुरुप बिउ बिजन, यान्त्रीकरण र प्रविधि प्रदेश सरकारले उपलब्ध गराउने छ भने प्रविधिकको व्यवस्था स्थानीय सरकारले गर्नु पर्ने छ ।

नगरपालिकाका अनुसार स्थानीय नमूना कृषि सहकारी संस्थाले खेतीको अगुवाई गरेको छ । पाईलट प्रोजेक्टको रुपमा अहिले एक सय बिघा खेतमा चक्लाबन्दी खेती सुरु गरिएको र किसानको माग अनुसार थप विस्तार गर्दै जाने उक्त वडाका अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो ।

“उक्त सहकारीमा आबद्ध ३२ जना किसानको झण्डै सय बिघा खेतमा चक्लाबन्दी खेती सुरु गरिएको छ,” उहाँले भन्नुभयो, “यसको क्षेत्रफल बिस्तार हुदै जान्छ । दुधौली नगरपालिकालाई प्रदेशकै नमूना र पर्यटकिय कृषि क्षेत्र बनाउने लक्ष्यका साथ अगाडी बढेका छौं ।”

उक्त क्षेत्रफलभित्र रहेको खेतलाई मेसिन लगाएर सम्याई ठूला गर्हा बनाई चक्लाबन्दी गर्ने भएको वडा अध्यक्ष राउतको भनाई छ । उहाँका अनुसार चक्लाबन्दी खेतीलाई चाहिने बिउ, मल, प्रविधि र यान्त्रीक उपकरण समेत किसानलाई उपलब्ध गराइएको छ ।

कृषिमा यान्त्रिकरणमार्फत आधुनिकरण गरिने र भएको उत्पादनलाई बजारिकरणमा सहयोग गर्ने अभियान रहेको स्थानीय किसान टिका दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको संघर्ष र मिहेनतलाई बुझेर प्रदेश सरकारले ल्याएको चक्लाबन्दी खेती प्रणाली राम्रो भएको बुझेका छौं ।”

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको आर्थिक सहयोगमा गोलन्जोर गाँउपालिका वडा नं. ३ को भदौरे, वडा नं. ४ को तीनकन्या र वडा नं. ५ को चिसापानीमा गरी ३० हेक्टर जमिनमा उक्त चक्ला बन्दी खेती सञ्चालन गरिएको छ ।

जुनार सुपर जोनका अनुसार जिल्लामा दुई बर्ष अघिदेखि जुनारको चक्लाबन्दी खेती सुरु गरिएको थियो । “तीनै ठाँउमा छ हजारका दरले जुनारका बिरुवा लगाईएको छ,” परियोजनाका प्राविधिक लक्ष्मी पोख्रेलले भन्नुभयो, “एक ठाँउमा १० हेक्टरका दरले तीन ठाँउमा गरी ३० हेक्टरमा जुनारको चक्लाबन्दी खेती बिस्तार गरिएको छ ।” खाली रहेको जमिनमा जुनारको चक्ला बन्दी खेती बिस्तार गरिएको उहाँको भनाई छ ।

जुनारको पकेट क्षेत्र बनाई खेती प्रणालीमा सजिलो होस भनेर उक्त चक्ला बन्दी खेती सुरु गरिएको प्राविधिक पोख्रेलले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत किसानले ५० प्रतिशत अनुदानमा जुनारको बिरुवा लगाएका छन् ।

तीनकन्यामा विश्वज्योती जुनार उत्पादन कृषि सहकारी संस्थाले जुनार सुपर जोन कार्यक्रमको सहयोगमा २० हेक्टर जमिनमा चक्ला बन्दी खेती सुरु गरेको छ । सहकारीका अध्यक्ष लोकबहादुर आलेमगरले चकला बन्दी खेतीमा ५६ जना किसानहरु सहभागि भएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले पनि चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको छ । त्यसैमा टेकेर हामीले उक्त खेती सुरु गरेका हौं ।”

यसले जुनार खेतीको बिस्तार हुने, खेतीमा व्यवसायिकरण हुने र विभिन्न किसिमको रोग किरा निन्यन्त्रण गर्न एकै ठाँउमा एउटै किसिमको प्रविधि अप्नाउन सजिलो भएको उहाँको ठम्याई ।

प्रतिक्रिया