सिन्धुली– प्रमुख सेनानी स्वर्गीय कविन्द्रजंग थापाको स्मृति छात्रवृति कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गौमती माध्यमिक विद्यालयका गरिब, बिपन्न, जेहन्दार र उत्कृष्ठ बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो ।
उक्त विद्यालयको कक्षा २,३,४,५,६,७ र ९ का १ ÷ १ जना र कक्षा ८ का २ जना, कक्षा १० का ४ जना गरि जम्मा १३ जना गरिब, विपन्न, जेहन्दार र उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद एक–एक हजार वितरण गरिएको छ । छात्रवृत्ति बितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण धिसिङले स्वर्गीय थापा सहनशील र मिलनसार रहेको स्मरण गर्नुभयो । उहाँले थापाबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । साथै, उहाँले सबै विद्यार्थीलाई देश, राष्ट्र र जनताका लागी केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।

यस्तै, कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाले सामुदायिक विद्यालयमा पढेर आफ्नो विद्यालय र सिंगो समाजको नाम राख्न सकिने स्वर्गीय कविन्द्रजंग थापाबाट प्रमाणित भएको बताउनुभयो । अध्यक्ष थापाले स्वर्गीय थापाजस्तै बन्नका लागी लगनशिल भएर पढ्नु पर्ने बताउनुभयो । विद्यार्थीले विद्यायलबाट नपाएका सुविधा साथै समस्याका विषयमा आवाज उठाउनु पर्ने उहाँले बताउनुभयो । गौमती विद्यालयलाई सिन्धुली जिल्लाकै नमुना सामुदायिक विदुयालय बनाउनका लागी सबै व्यक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।
वर्दबहादुर गण सिन्धुलीका गणपति विजय थापाले छात्रबृत्ति पाउने गरिब तथा जेहन्दार विद्यार्थीलाई केहि हद सम्म सहयोग मिलेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण धिसिङको अध्यक्षता तथा वर्दबहादुर गण सिन्धुलीका गणपति विजय थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल थापा, स्वर्गिय थापाका दाजु निर्मल थापा, विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
को हुन् स्वर्गिय कविन्द्रजंग थापा ?
प्रमुख सेनानी थापा कंगोमा सहादत प्राप्त सैनिक हुनु हुन्छ । उहाँको २०६२ साल जेठ १८ गते शान्ति स्थापनार्थ तैनाथ रहँदा कंगोमा मृत्यु भएको थियो । शान्ति स्थापनार्थ कंगोमा खटिएका बेला निधन हुनु भएका प्रमुख सेनानी कविन्द्रजंग थापाको नाममा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र ्रपाँचखालमो कविन्द्र मण्डब निर्माण गरिएको छ ।

तत्कालिन संयुक्त राष्ट्रिय संघका महासचिव बान कि मुनले नेपालको संविधानसभाको विशेष बैठकमा उच्च समर्पणभावको अनुपम नमूना प्रस्तुत गर्दै वीरगति प्राप्त गर्ने स्वर्गीय थापालाई सम्झिदैँँ नेपाली सेनाको तारिफ गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो,“एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजंग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कंगोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरूले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादती सामूहिक वलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने काममा सयौं सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्साउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए ।
हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए । हेलिकोप्टर भित्र चढ्ने बित्तकै उहाँलाई गोली लाग्यो र उनको निधन भयो । सेनानी थापाले आफ्ना साथीहरूको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसंघको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरूले प्रधानमन्त्री प्रचण्डको देशलाई ‘शान्तिको नमूना’ बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौँ ।”