शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नजिकिदो बर्षादको मौसमसँगै सिन्धुलीमा पहिरोको त्रास

बिहिवार , जेठ १९, २०७९

जोखिम : सिन्धुलीको कमलामाई नगरपालिका–४ केराबारीमा गएको पहिरो

सिन्धुली, – मरिण गाँउपालिका–५ कात्तिके खलङगा निवासी मानबहादुर सिंजालीलाई आकाशमा कालो बादल मडारिनासाथ चिन्ता बढ्न थाल्छ । ७०७२ सालमा गएको बिनासकारी भुकम्पले कात्तिके खलंगामा झण्डै एक किलोमीटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाजा फाटेकाले पुरै बस्ती नै पहिरो गई बग्ने हो की भन्ने उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, “घरको बीच भागबाट धाँजा फाटेको छ । घरको बीचबाट नै जमीन चिरिएको छ । झन बर्षादको मौसममा त घर बग्ने हो की भन्ने सधै चिन्ता हुन्छ । जमिन पहिरोले बग्ने अवस्था भएकाले घर बनाउन अन्यत्र जमिन नहुनाले त्यही बस्दै आएको छु ।” दुधौली नगरपालिका –५ घारीथुन्सिमा पनि तीन दर्जन घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । आठ वर्ष अघि गएको उक्त पहिरो नियन्त्रणका लागि कुनै पनि प्रभावकारी काम नहुदा यो वर्ष पनि नजिकिदो बर्षादको मौसमसँगै मनमा त्रास बढेको स्थानीय बासिन्दा बताउछन् । उनिहरुका अनुसार ठूलो पानी प¥योकी रातभर जाग्राम बस्नु पर्ने अवस्था छ । पहिरोबाट पीडित स्थानीय बासिन्दा खजिन्द्र पाख्रिन पहिरो बर्सेनि बग्दै घर नजिकै आइसकेको गुनासो गर्नुहु्न्छ । उहाँले भन्नुभयो, “ठूलो पानी प¥यो कि भगवानको नाम जपेर बस्नु पर्दछ । जाने अन्त कतै ठाँउ नभएकाले पहिरोको त्रासमा जीवन गुजार्नु परेको छ ।” सुरुमा उक्त पहिरोले छ जनाको ज्यान लिएको र हालसम्म पनि पहिरो नियन्त्रण गर्न कुनै निकायले चासो नदेखाएको उहाँले बताउनुभयो । त्यस्तै गोलन्जोर गाँउपालिका–७ आधीसारामा पहिरोका कारण झण्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउछन् । स्थानीय शरद आचार्य आधीसारामा ०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जनजति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । “पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तिमाथि रहेको जङगल उनीहरुले नै मासे । भुकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु गर्‍यो,” उहाँले भन्नुभयो । भएकाहरु मुसलधरे पानी पर्नासाथ रातभर जाग्राम बस्नु पर्ने स्थानीय पाण्डब श्रेष्ठको भनाई छ । “पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पुरै धाँजा फाटेको छ,” उहाँले भन्नुभयो, “अन्तजाने ठाउ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र ? ‘भएको थातथलोलाइ एकै पटक छोडेर हिड्ने अबस्था छैन ।” सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाइ हट्न अथवा ढुक्क भएर बस्ने वाताबरण बनाइ दिनुपर्ने उहाँको तर्क छ । मरिण गाँउपालिकाका निबर्तमान् अध्यक्ष पानीराज बम्जन पनि नजिकिदो बर्षादको मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले भन्नुभयो, “संभाव्यता अध्ययन नै नगरी जथाभावि खनिएका ट्रयाक सडक र वैज्ञानिक वनका नाममा भएको वन बिनासले पहिरोको जोखिम बढाएको छ ।” उहाँका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्त अनुसार ८० बर्ष पुरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ । वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायिको मिलेमतोमा जथाभावी नै वन विनास भएको छ । जस्का कारण हरेक बर्ष पहिरोको त्रासदी बढेको छ । महाभारत उत्तरतर्फका दर्जन भन्दाबढि ठाँउहरु पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, वस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाँउ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ । कमलामाई नगरपालिकाको पनि ढुंग्रेभन्ज्याङ र केवरेको पहिरोको कारण सदरमुकाम सिन्धुलीमाढी समेत खतरामा रहेको छ ।

प्रतिक्रिया