सिन्धुली– स्थानिय निर्वाचन २०७९ बाट सिन्धुलीमा चार सय १३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जनप्रतिनिधि र नौवटा स्थानिय तहको ५८ कार्यपालिका सदस्यको तलबमामात्रै वार्षिक चार करोड ७७ लाख ४८ हजार रुपैँया खर्च हुने गरेको छ । बागमती प्रदेश सभाले निर्धारण गरेको तलबमा गाउँपालिका भन्दा नगरपालिकाको जनप्रतिनिधिको तलब बढि छ ।
सिन्धुलीमा दुईवटा नगरपालिका छ । नगरपालिका प्रमुखको मासिक तलब ३५ हजार तोकिएको छ । उपाध्यक्षको तलब भने ३० हजार रहेको छ । त्यस्तै, नगरपालिका अन्तर्गतका वडाध्यक्षको तलब २१ हजार रहेको छ । कार्यपालिका सदस्यले मासिक सात हजार पाउने व्यवस्था छ भने नगरसभा सदस्यको मासिक तलब छ हजार तय गरिएको छ । सिन्धुलीको दुई नगरपालिकाको प्रमुख, उपप्रमुख, २८ वडाध्यक्ष, १६ कार्यपालिका सदस्य र १०२ नगरसभा सदस्यको तलबमा वार्षिक एक करोड आड लाख ३६ हजार खर्च हुने गरेको छ ।
त्यसैगरि, गाउँपालिका अध्यक्षले मासिक ३० हजार र उपाध्यक्षले २५ हजार तलब पाउने गरेको छन् । गाउँपालिका अन्र्गतका वडाका अध्यक्षको नगरपालिकाको वडाध्यक्षको तलब भन्दा एक हजार कम रहेको छ । गाउँपालिकाको वडाध्यक्षको मासिक तलब २० हजार रहेको छ । त्यस्तै, कार्यपालिका सदस्य र गाउँसभा सदस्यको मासिक तलब क्रमशः छ हजार र पाँच हजार रहेको छ । जिल्लाको ७ वटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, ५१ वडाध्यक्ष, ४२ कार्यपालिका सदस्य र १७६ गाउँसभा सदस्यको तलबमा वार्षिक एक करोड ८२ लाख चार हजार खर्च हुने गरेको छ ।
जनप्रतिनिधिले तलब बाहेक पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा सुविधा लागू हुने गर्दछ । तलब र अन्य सुविधा जोड्दा सिन्धुलीमा मात्रै जनप्रतिनिधिकालागि झण्डै छ करोड तलबमा खर्च हुने गरेको छ ।