सिन्धुली – जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपुर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको चरम लापर्बाही पाईएको छ ।
उक्त संस्थाका अध्यक्षको लापर्बाहीका कारण उपभोक्ताहरु खानेपानी उपभोग गर्न नपाए पनि मासिक शुल्क तिर्न बाध्य भएका छन् भने कतिपय उपभोक्ताहरु बर्षादको मौसममा धमिलो खानेपानी उपभोग गर्न बाध्य भएका छन् । मासिक शुल्क बुझाएर पनि कतिपय धारामा पानीको सट्टा हावा मात्रै आएपछि उपभोक्ताहरुलाई हरेक दिन खानेपानी जुटाउन चटारो पर्ने गरेको छ ।
अझ हरेक बर्ष बस्नु पर्ने बार्षिक साधारणसभा समेत संस्थाका अध्यक्ष महेन्द्रदेब श्रेष्ठको कार्यकाल सकिन लाग्दा समेत अहिलेसम्म बस्न सकेको छैन । नेकपा एमालेका कमलामाई नगर ईन्चार्ज समेत रहनु भएका संस्थाका अध्यक्ष श्रेष्ठ आफुले गरेको लापर्बाहीका कारण साधारणसभादेखि डराएर भाग्नाले उक्त साधारणसभा बस्न नसकेको उपभोक्ताको बुझाई छ ।
कमलमाई नगरपालिका–६ निवासी उपभोक्ता रमा बराल उपभोक्ताले सिद्धेश्वर खानेपानी संस्थाको आम्दानी र खर्च उपभोक्ताले जान्न पाउनु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अध्यक्ष श्रेष्ठको दुई कार्यकाल बित्न लागि सक्यो, साधारणसभा कस्तो हुन्छ ? उपभोक्तालाई थाहा छैन ।” खानेपानी संस्थाभित्र भएका जथाभावी खर्च र अनियमितताका कारण साधारणसभा नबसेको हुन सक्ने उहाँको आशंका छ ।
त्यस्तै सोही ठाँउ निवासी उपभोक्ता सागर चौलागाई रातमाटा हाईटमा एक महिनाभन्दा बढी समयदेखि खानेपानी नआएको गुनासो गर्नु हुन्छ । “शिध्देश्वर खानेपानीको लापर्वाहीको पराकाष्टाले विगत एक महिना भन्दा ज्यादा समयदेखि रातमाटा हाईट एफएम एरियाका हामी केही उपभोक्ता को धारामा पानी आएको छैन,” उहाँले भन्नुभयो, “जिम्मेवार पदाधिकारिहरूलाई समस्या दर्साउँदा कहिले ट्यांकिमा पानी छैन, कहिले मुहान बाढीले वगायो भन्दै गैरजिम्मेवार जवाफ दिदै आाएका छन । यसैगरी हाम्रा समस्यालाई नजरअन्दाज गर्दै जाने हो भने हामी उपभोक्ता पनि मनासिव कदम उठाउन वाध्य हुने छौ ।”
कमलामाई नगरपालिका–४ मल्लागाँउ निवासी दुर्गा अधिकारीलाई हरेक दिनको बिहान खानेपानीको चटारो हुन्छ । आफुलै पैसा तिरेर राखेको धारामा खानेपानी नआएपछि छिमेकको घरमा जानु परेको उहाँको गुनासो छ । उपभोक्ता अधिकारीले भन्नुभयो, “खानेपानीको एक दममै समस्या छ, खानेपानी लिन छिमेकीकोमा जान्छु ।”
गर्मी मौसक सुरु भएसँगै खानेपानीको समयस्या झेल्नु परेको र आफ्नो घरको धारामा नियमित पानी नआएको लामो समय भई सकेको उहाँले सुनाउनुभयो । धारामा खानेपानी नआएपनि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपुर्ति गर्ने शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थालाई भने नियमित शुल्क भने तिर्दै आएको उहाँको भनाई छ ।
“कहिले कहि तारकतुरक आउछ, त्यहि पानी भरेर राख्यो । नत्र छिमेककोमा जानुको बिकल्प छैन,” उहाँले भन्नुभयो, “छिमेकको पनि समस्या मेरो जस्तै छ । जस्को घरमा आउछ, उतै गाग्री बोकेर कुद्यो ।” यता शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाभने जिल्ला सदरमुकाम सिन्धुलीमाढी बढ्दो शहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न अब दैनिक १० लाख लिटर खानेपानी थपिने गरी योजनाको निर्माण भई रहेको उक्त संस्थाले जनाएको छ ।
शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा थप दुई वटा नयाँ मुहानमा योजना सञ्चालन गरी उक्त खानेपानी थप्न लागेको जनाएको छ । संस्थाका अनुसार संस्थाको १५ प्रतिशत लगानी सहित बागमती प्रदेश सरकारको २१ करोड रुपैया लगानीमा बहुबर्षे योजना अन्तर्गत दुई बर्षअघि ती योजना निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका ४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई निर्माण गरिएको ती नयाँ योजनाको काम अहिले आन्तिम चरणमा रहेको जनाईएको छ ।
अहिले सदरमुकममा नेपाली सेना, प्रहरी, अन्य सरकारी कार्यालय र उपभोक्ता गरी दैनिक ३० हजार उपभोक्ताले खोनेपानी उपभोग गरि रहेको बताईएको छ ।