शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एक महिनादेखि युरिया मलको अभाव

बुधवार , जेठ १८, २०७९

सिन्धुली– सिन्धुलीमा एक महिनादेखि युरिया मलको अभाव भएको छ । मकै खेतिको लागि आवश्यक पर्ने युरिया मल अभाव हुदाँ किसान मर्कामा परेका छन् । मल अभावको कारण मकै खेतिनै सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।

कमलामाई नगरपालिका ४ कि कविता थापा एक महिना देखि सहकारीमा युरिया मल लिन धाइरहनुभएको छ । “एक महिना भइसक्यो मल लिन बजार धाएको, कतै आएको छैन । वर्षैनी मल अभाव हुन्छ ,” उहाँले भन्नुभयो । मल अभावको कारण मकैँ बाली सुक्न थालेको भन्दै उहाँले गुनासो गर्नुभयो । मकै बालीलाई मलको आवश्यक पर्ने समयमा वर्षेनी अभाव हुने गरेको उहाँ बताउनुहन्छ । “गत वर्ष पनि यहि समयमा मल अभाव थियो, चार दिन पालो कुरेर पहिलेको वर्ष नि मल ल्याएको थिए, यो वर्ष त मल नै छैन । अब केहि समय मल आएन भने सबै मकै सुक्छ ”, उहाँले भन्नुभयो ।

अहिले जिल्लाका किसानहरु सरकारी अनुदानमा आउने गरेको युरिया मलको लागि स्थानीय सहकारीहरुमा धाउँदा समेत मल पाउन सकेका छैनन् । हरेक बर्ष झै यस बर्ष पनि चाहिने बेलामा नै बजारमा मलको अभाव हुदा कृषकहरु बढी मुल्य तिरेर भएपनि युरिया मल किन्न बाध्य भएको कमलामाई नगरपालिका ५ का युवराज न्यौपानेले बताउनुभयो । युरिया मलको लागि डेढ गुणादेखि दोब्बर मुल्य तिर्दा पनि अहिले बजारमा युरिया मल पाउन नसकेको उहाँले बताउनुभयो । मरिण गाउँपालिका ४ का भक्त बहादुर गोले समयमै मल नपाउँदा मकै बालीमा विभिन्न रोगकिराको संक्रमण हुन थालेको गुनासो गर्नुहुन्छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रवक्ता नवराज महतका अनुसार जिल्लामा गत फागुन महिना देखि युरिया मलको अभाव भएको हो । “साउन देखि फागुन सम्म जिल्लामा लगभग १७ सय टन युरिया मल भित्रिएको थियो । त्यस पछि जिल्लामा मल आएकै छैन । मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ,” उहाँले भन्नुभयो । जिल्लामा यस आर्थिक वर्षमा ६ हजार टन युरिया मल, २५ सय टन डिएपि मल र २५० टन पोटास मल माग गरिएको थियो । प्रवक्ता महतका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडले जिल्लामा ३ हजार टन युरिया, एक हजार टन डिएपी र १५० टन पोटास मल स्वीकृत दिएपनि जिल्ला आएको छैन । आगामी असारको दोस्रो साता सम्म मल जिल्लामा आइसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया