शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली मोटर बिग्रिदा खानेपानी समस्याबाट प्रभावित

मंगलवार , जेठ १७, २०७९

सिन्धुली, – सिन्धुलीकोे तीनपाटन गाँउपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुख्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित बनेका छन् ।

गाँउमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झण्डै २५० घर परिवार खानेपानीको समस्याबाट प्रभावित भएका स्थानीय उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता कृष्णबहादुर खड्काका अनुसार पताले र छर्छरे लिफ्ट खानेपानी योजना एक बर्षअघि नेवा भन्ने संस्थाले करिब ५० लाख रुपैया लागतमा निर्माण गरि दिएको थियो ।

“ती योजना निर्माणहुनु पहिलेसम्म खानेपानी समस्याकै कारण छर्छरेडाँडाका सयभन्दा बढी घरपरिवार गाँउ छाडेर बेंसीमा झरथ्र्यौ,” उहाँले भन्नुभयो, “गर्मी सुरु भएपछि तीन महिनाका लागि बेंसिमा पर्ने सिस्ने, जाँते र डिलमुनीका खोला किनारमा झरथ्र्यौ । बर्षाकौ मौसमसँगै गाँउमा खानेपानीका मुहान् रसाएपछि गाँउ फर्किन्थ्यौ ।”

अहिले गाँउमा भएको खानेपानीको कुवामा पानी लिन उपभोक्ताको आधा रातमा नै भिड लाग्ने गरेको स्थानीय उपभोक्ता बताउछन् । ‘बिहानभरी सधै खानेपानीको जोहो गर्दै बित्छ । त्यो पनि मान्छेलाई खुवाउनु कि पशुलाई दिनु’ स्थानीय गृहणी मिश्रा खड्काले भन्नुभयो, “कुवा सुकेपछि सबैको काम पानी बोक्ने भन्दा अरु हुदैन ।”

गृहणी खड्का अनुसार पताले लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएर थन्किएको छ । अर्को छर्छरे लिफ्ट खानेपानी योजनामा जडान गरिएको मोटर राम्रोसँग काम गर्दैन । उक्त मोटर चरक्क घाम लागेपछि मात्रै एक घण्टाजति चल्दछ । दुबै योजनाको मोटर बिग्रिएपछि उपभोक्तालाई पुन कुवाको पानी खोज्दै हिड्नु पर्ने बाध्यता भएको छ ।

“गाँउमा भएका कुवामा ‘रातीको १/२ बजे नपुगे पानी नै पाईदैन,” उहाँले थप्नुभयो, “त्यो पनि जो पहिले पुग्यो, उसैले ल्याउछ कुवामा अलिअलि गरी रसाएर जम्मा भएको पानी । पछि पुग्ने त रित्तो गाग्री लिएर फर्किन्छन ।” कुवामा भएको पानी धमिलो भएपनि बाध्य भएर उपभोग गर्नु परेको उहाँको गुनासो छ ।

गृहणी खड्का अनुसार खानपानीको समस्याले गर्दा पनि गर्मी मौसमा छर्छरेडाडाँमा बिबाह, ब्रतबन्ध जस्ता कार्य गर्न कोही पनि अघि सर्दैनन् । भोजभतेर गर्न खानेपानीको समस्याले गर्दा कैसैले विवाह डाँडामा गर्‍यो भने भोज बेंसीमा गर्ने गर्दछन् । छर्छरेडाँडाका हरेक गृहणीलाई यतिखेर श्रीमान् भन्दापनि खानेपानी प्यारो हुने गरेको स्थानीय बासिन्दा बताउछन् ।

उक्त वडाका अध्यक्ष गोबिन्द राउत छर्छरेडाँडाको खानेपानी समस्या समाधानका लागि प्रयास भई रहेको बताउनुहुन्छ । “पताले खानेपानी योजना पाँच सय मिटर तलबाट र छर्छरे खानेपानी योजना डेढ किलोमिटर तलबाट लिफ्ट गरी सञ्चालन गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘भर्खर स्थानीय तहको चुनाब सकिएको छ । अब गाँउपालिकालाई भनेर बजेट ल्याई योजना मर्मत गर्ने तयारी भई रहेको छ ।”

२०७२ सालमा आएको विनासकारी भुकम्पका कारण पनि गाँउका कुवाको मुहान सुकेको उहाँको तर्क छ । छर्छरेडाँडाको खानेपानीको समस्या समाधान गर्न केही बर्ष पहिले स्थानीय एक गैरसरकारी संस्थाले घैंटो कार्यक्रम परिक्षणका लागि सञ्चालन गरको भएपनि सफल नभएको स्थानीय उपभोक्ता बताउछन् ।

प्रतिक्रिया