सिन्धुली, – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको कार्यपालिका बैठकले बिभिन्न ८ निर्णय गर्दै सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा सोमवार बसेको बैठकले ७ वटै वडामा प्रत्येक ३ महिनामा सामाजिक सुरक्षा भत्ता सहितको घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बिगतमा संचालन भएका योजनाहरुको प्रभावकारी रुपमा अनुगमन, मुल्यांकन र निरिक्षण गर्ने, नवनिर्वाचित वडा समिति र अनुगमन समितिको सिफरिसमा मात्रै भुक्तानी दिने र आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य अगाडी बढाइने दोस्रो निर्णय गरिएको छ ।
गाउँपालिका भवन निर्माणको अघिल्लो टेण्डर रद्ध गरि फेरि टेण्डर आब्हान गरिने, आगामी आर्थिक बर्षको साउन १ गते देखि उपयुक्त अन्य ब्यवस्था भएमा गाउँपालिकाको कार्यालयलाई नया भवनमा स्थानान्तरण गर्ने र भाडाको घर छोड्ने, गाउँपालिकामा एक सहकारी डेस्क गठन गर्ने र त्यसको लागि आवश्यक जनशक्ति र स्रोतसाधनको ब्यवस्था गर्ने समेत निर्णय गरिएको छ ।
त्यसैगरि गाउँपालिकाको शिक्षा शाखामा थप जनशक्ति आवश्यक भएकाले २ जना शिक्षकलाई काजमा ल्याउने, रिक्त शिक्षकको ठाउमा अर्को शिक्षक नियुक्त गर्न अनुदान प्रदान गर्ने र कार्यपालिका बैठकको बिषयमा कार्यपालिका सदस्यहरुलाई सम्भव भए सम्म ३ दिन अगाडी नै म्यासेज अथवा पत्र मार्फत जानकारी गराइने समेत निर्णय गरिएको छ ।
