सिन्धुली – सिन्धुली कारागारमा रहेका ९ जना कैदिलाई कैद माफी मिनाहा दिइएको छ । गणतन्त्र दिवसको अबसरमा आइतवार कानुन अनुसार माफी मिनाहा योग्य भएका ५० प्रतिशत कैद भुक्तानी भएका र असल चालचलन भएका ९ जना कैदि लाई माफी मिनाहा दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैदी भुक्तान गरेका र आममाफी दिन उपयुक्त कैदीहरुको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हो ।
संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर, सजाय तथा कार्यान्वयन ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशको आधारमा माफी दिइदै आएको छ ।
कैद माफी मिनाहा सिन्धुली कारागारका जेलर कुशल न्यौपाने र प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको सिफारिसकामा दिइएको हो । जेलर न्यौपानेका अनुसार कैद माफी मिनाहा पाउनेमा सवारी ज्यान मुद्धा लागेका मिथिला नगरपालिका ७ धनुषाका अजय कुमार शाह, धनुषाकै महादेव शाह भन्ने हरिनारायण शाह, महोत्तरी मरिहानी ५ का शम्भु शरण मण्डल रहेका छन् ।
यस्तै, बहुविवाहको मुद्धा लागेका मरिण गाँउपालिका ५ सिन्धुलीका दिप बहादुर सुनुवार, कर्तव्य ज्यान मुद्धा लागेका युदुकुवा ७ धनुषाका अजय कुमार महरा, सिन्धुली साविक दुम्जा ६ का भरत हायु र सिराहा नगरपालिका ६ सिराहाका थेपी भन्ने शुभकला देवीको कैद माफी मिनाहा गरिएको छ । मोटरसाईकल चोरीको मुद्धा लागेका मलंगवा ९ सर्लाहीका मोहम्वत सल्हाम भन्ने मोहम्वत सल्हाम हुसैन र ठगी मुद्धा लागेका साविक ठाडी झिजा २ धनुषाका विनोद महरानको कैद मिनाहा गरिएको जेलर न्यौपानेले जानकारी दिनुभयो ।