सिन्धुली– सिन्धुलीको गोलन्जोर गाँउपालिका–५ हिर्दिङ् निवासी सन्तोष बस्नेतले यतिखेर जिल्ला सदरमुकाम सिन्धुलीमाढी ल्याएर काफल बेच्दै आउनु भएको छ ।
गाँउकै नयाँखर्क उमाविमा अध्ययनरत बस्नेत गरिबीका कारण पढाई खर्च जुटाउन र घर व्यवहार चलाउने खर्चको जोहो गर्न काफल विक्रि गर्दै आएको बताउनुहुन्छ । सन्तोषको आफ्नै बारीमा काफलको ६० वटा बोट रहेको छ । एक डालो काफल बिक्री गर्दै आएको र त्यसबाट दुई हजार जति कमाई हुने गरेको उहाँको भनाई छ ।
“काफल बेचेर घर पुग्दा घरका अरु सदस्यले काफल टिपेर राखेका हुन्छन्, अर्को दिन सोही काफल बोकेर बिक्री गर्न सदरमुकाम आउछ”, उहाँले भन्नुभयो । सोही ठाँउका अर्का विद्यार्थी मिलन सुनुवार पनि घरको आर्थिक अवस्था कम्जोर भएकाले पढाई खचै जुटाउन काफल बेच्नु परेको बताउनुहुन्छ । “सँगैका साथीहरु काफल बेच्न हिडेका छन्, राम्रै पैसा घर लान्छन्”, उहाँले भन्नुभयो, “सिजनको फल भएकोले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।”
यो बर्ष काफल लटरम्म धेरै फलेको र बजारमा अहिले काफल प्रतिमाना एक सय ५० रुपैयासम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । बीपी राजमार्ग आसपासका गाँउका विपन्न वर्गका बालबालिका तथा बृद्ध किसान यतिखेर काफलको व्यापारप्रति आकर्षित बनेका छन् । गरिबीका कारण घर खर्चको जोहो गर्न मौसमी फलको रुपमा रहेको काफलको व्यापारप्रति आकर्षण भएको उनीहरुको भनाई छ ।
सोही ठाँउका ५५ बर्षिय डोरबहादुर थापाले त २०४० सालदेखि नै बर्सेनि काफल बिक्री गर्दै आउनु भएको छ । उहाँको बगैचामा यतिखेर काफलको एक सय बोट छ । “घरमा टिप्ने मानिस हुदा बर्षको डेढ लाख रुपैया कमाई हुन्थ्यो । दुई जना छौं, झरेर र कुहिर नै जान्छ,” उहाँले भन्नुभयो, “त्यस्तै बर्षको ६०÷६५ हजार जति कमाई हुन्छ ।”
आफुले घरबाटै मानाको ९० रुपैयाका दरले दिने गरेको र व्यापारीले खनियाखर्क बजारमा पु¥याएर प्रतिमाना १५० रुपैयासम्ममा बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । खनीयाखर्क निवासी किसान धनबहादुर भुजेल छिमेकीले काफल बेचेको देखेर आफुले पनि पेशामा संलग्न भई दुई वर्षदेखि वर्षभरिको नुन, तेल र घर खर्च काफलको आम्दानीबाटै जोहो गर्दै आएको बताउनुहुन्छ । राम्रो आम्दानी हुनु र उपभोक्तको बढ्दो रुचिका कारण काफलको व्यापार गरिब कृषकका लागि गुजराको माध्यम बनेको उहाँको ठम्याई छ ।
किसान भुजेलको शब्दमा “केही वर्ष पहिलेसम्म त्यस क्षेत्रका किसानहरु जङ्गली फल भनि काफलको वास्ता गर्दैनथे । बीपी राजमार्ग निर्माणसँगै काफलको व्यापार चम्किएको हो । काफल बिक्री गरी दिनको दुई हजारसम्म कमाई हुने गरेको छ । काफल बिक्री गरि एउटाले गरेको आम्दानी देखेर त्यसको सिकोगरि पछि लाग्ने अहिले धेरै भएका छन् । अहिले काफल सङ्कलन गर्न जाँदा जङ्गलमा हारालुछ नै हुन्छ ।”
पछिल्लो समयमा उपभोक्ताको काफलप्रति आकर्षण बढेपछि काफल बिक्री गर्ने किसानको संख्या पनि बढ्दै गएको उहाँको बुझाई छ । प्रत्येक बर्ष सिजनमा हुने काफलको आम्दानीले विपन्न बर्गका किसानलाई घर व्यवहार धान्न धेरै जसिलो भएको छ । महाभारत क्षेत्रको जङ्गलमा प्रशस्त काफल पाईने हुनाले विपन्न किसानहरु जङ्गलमा गई काफल सङ्कलन गरि नजिकको बजारमा पु¥याएर विक्री गरि आम्दानी लिने गरेको पाईन्छ ।
किसानहरुका अनुसार प्रत्येक वर्ष चैतदेखि जेठ महिनाको पहिलो हप्तासम्म काफलको सिजन हो । सिजनको सुरुमा काफल बजारमा ल्याउदा बढि आम्दानी हुने गर्दछ ।