राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकालागि २ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले हेड वक्र्स र पावरहाउस निर्माणका लागि बजेट छु्टाइएको जानकारी दिनुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम सुरू हुन अझै तीन महिनाभन्दा बढी समय लाग्ने अनुमान छ । ठेक्का नलागी शिलान्यास गरिएको १०.०५ अर्ब लागतको यो आयोजना चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले बनाउने सम्झौता गत महिना भएको छ । यो कम्पनीले सिंचाइ विभागबाट डिजाइन पास गरेर टनेल बोरिङ मेसिन (टीबीएम) खरीद गर्दैछ । सुरुङसहित यो आयोजना सक्न ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
तराई मधेशको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजना अन्तर्गत सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी १३ दशमलव १ किलोमिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर २८ दशमलव ६२ मेगावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत ३७ दशमलव २ डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबर सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ । सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरेको थियो ।