सिन्धुली– जिल्लाको कमलामाई नगरपालिकाले सञ्चालन गरेको किसान कल सेन्टरमा जिज्ञासा आउने क्रम बढ्दो रहेको छ । नगरपालिका भित्रका टाढा र दुर्गम ठाउँका कृषकहरुले आफ्नो सामान्य जिज्ञासा तथा गुनासो राख्न पनि सदरमुकाम नै आउनुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले गत वर्षको मंसिर महिनादेखि कल सेन्टर संचालनमा आएको थियो । सुरुवाती चरणमा कल सेन्टरको बारेमा थोरैलाई मात्र जानकारी थियो । त्यसैले जिज्ञासा तथा गुनासो कम आउने गर्दथ्यो तर अहिले धेरै किसानलाई यसको बारेमा जानकारी भइसकेको हुनाले स्थापनाकालमा भन्दा धेरै मात्रामा किसानहरुले सम्पर्क गर्ने गरेको नगरपालिकाका कृषि प्राविधिक लिलानाथ देवकोटाले बताउनु भयो ।
‘कल सेन्टर संचालनमा आएपछि कृषकहरुले सानो समस्याका लागि पनि गाडी भाडा तिरेर कार्यालयसम्म आईपुग्नु पर्ने समस्या हटेको छ ।’, उहाँले भन्नुभयो, ‘अहिले त कृषकहरुले कल सेन्टर मार्फत आफ्नो समस्या बताई कृषि प्राविधिक मार्फत परामर्श लिएर घरमै बसि समस्याको हल गर्न सकिने भएको छ ।’ कल सेन्टरमा मौसम अनुसार जिज्ञासा तथा गुनासो आउने गर्दछ । अहिले नगरपालिकाले धानको विउ वितरण गर्ने कार्यक्रमहरु संचालन भइरहेको छ । हाल सो विषयलाई लिएर किसानहरुले धानको विउ कहिले कहाँ वितरण हुने जान्नको लागि बढी मात्रामा फोन आउने गरेकोे देवकोटा बताउनुहुन्छ । यस्तै, तरकारी तथा फलफुलमा किरा तथा रोग देखा पर्ने समयमा दिनमा १० जना भन्दा बढी कृषकहरुको कल आउने गरेको उहाँ बताउनुहुन्छ ।
कल सेन्टरमा कृषि प्राविधिक सविता कुमारी थापा र लिलानाथ देवकोटाले परामर्श दिने गर्नुहुन्छ । ‘अहिले सम्म किसानहरुको सामान्य समस्या मात्र आइरहेको हुनाले सबै समस्या सरल रुपमा समाधान भइरहेको छ ।’,देवकोटाले भन्नुभयो । कल सेन्टर कार्यालय समयमा सधैँ खुल्ला रहने गर्दछ । कृषकहरुले १६६०४७५२२३४ टोल फ्रि नम्बरमा फोन गरेर कृषि सम्बन्धि सम्पुर्ण जानकारी लिन सकिने कृषि प्राविधिक लिलानाथ देवकोटाले बताउनुभयो ।