शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधि घरदैलोमा व्यस्त

मंगलवार , जेठ १०, २०७९

सिन्धुली — सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधि घरदैलोमा व्यस्त छन् । विगत १ महिना उनीहरु मतदाताको घरघरमा मत माग्न पुगे भने अहिले तिनै मतदातालाई धन्यवाद दिन टोलबस्ति पुगिरहेका छन् । जिल्लाका नौँ वटै पालिकाका जनप्रतिनिधि अहिले मतदातालाई धन्यवाद दिन टोलवस्तिमा व्यस्त देखिएका छन् । कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा विजयीहरुले ¥याली गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । ७ वटा गाउँपालिकाको केन्द्रहरुमा जनप्रतिनिधिहरुले उत्सव मनाउँदै मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा पुगेका छन् । वडातहसम्मका प्रतिनिधिहरु समेत मतदातालाई धन्यवाद दिन घरघर पुगेका छन् ।

घरदैलो अभियानमा जनप्रतिनिधिलाई भव्य स्वागत गर्दै मतदाताहरुले नागरिकको सेवासुविधामा विशेष जोड दिन आग्रह गरेका छन् । जनप्रतिनिधिलाई माला, खादा देखि पञ्चेबाजा बजाएर मतदाताले स्वागत गरिरहेका छन् । हालै कमलामाई नगरपालिका ३ स्थित जलकन्यमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेललाई स्थानियले खैंजडी भजन गाउँदै स्वागत गरेका थिए । लोपोन्मुख खैंजडी भजन नृत्य जलकन्यामा चर्चित छ । स्थानीय कलाघरका युवाहरुले खैंजडी भजनबाटै मेयर पोखरेलसँग विकास र रोजगारी मागेका छन् । उनीहरुले निर्माणाधीन कलाघरलाई नगरपालिकाको सम्पत्तिका रुपमा ग्रहण गर्न समेत मेयर पोखरेलाई सुझाए । बीपी राजमार्गको सोलाभन्ज्याङबाट सिन्धुलीगढी जाने बाटो भएर जलकन्या पुगिन्छ ।

सिन्धुलीमा दुधौली नगरपालिका, सुनकोसी, हरिहरपुरगढी र मरिण गाउँपालिका गरी चारवटा माओवादी केन्द्र, कमलामाई नगरपालिका, घ्याङलेख र तीनपाटन गाउँपालिका कांग्रेस र गोलन्जोर र फिक्कल गाउँपालिकामा एमालेले विजयी हासिल गरेको छ । धन्यवाद ज्ञापन गर्न घरदैलोमा पुग्दा मतदाताले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगार मागेको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।

घोषणपत्रमा लेखिएका कुरा लागू गर्न मतदाताले अपिल गरेको उहाँको भनाइ थियो । दुधौलीका प्रमुख दिनेश अधिकारी दनुवारले फुसको छाना हटाउने पहिलो निर्णय गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘विपन्नको जीवनमा सुधारमा जोड दिनेछौं ।’ सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल कृषि उत्पादनमा जोड दिने बताउनुभएको छ ।

प्रतिक्रिया