सिन्धुली – कमलामाई नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरूले पदभार ग्रहण गर्नु भएको छ । सोमबार वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष पुर्णबहादुर खड्का, वडा सदस्यहरू कल्याण सुनुवार, जमुना श्रेष्ठ, टेकबहादुर तामाङ र कान्छिमाया सर्किनीले पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण कार्यक्रममा वागमती प्रदेश सदस्य विनोद खड्का, नेपाली काँग्रेस सिन्धुली प्रदेस समिति उप सभापति तुलसी प्रसाद गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडामा कार्यरत कर्मचारीहरू, वडाबासीहरूले स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना समेत प्रदान गरेका छन ।
२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष खड्का लगायतका चार सदस्य विजयी हुनु भएको थियो । वडा अध्यक्ष खड्का २०७४ को स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँको यो दोस्रो कार्यकाल हो ।
पदभार ग्रहण कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष खड्काले अघिल्लो कार्यकालको अनुभव र कार्यक्षमताका आधारमा अधुरा कामलाई सम्पन्न गर्न आफु र आफ्नो टिम प्रतिबद्ध रहेको बताउनु भयो भयो ।
उहाँले वडावासीका हरेक समस्याहरूमा आफु जानकार रहेको भन्दै हरेक नागरिकका काम सेवक भएर पूरा गर्ने बताउनु भयो । कार्यक्रममा २०७४ को स्थानीय चुनावमा निर्वाचित वडा सदस्यहरुलाई विदाई तथा फेरि भेटौला कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
वडा सदस्यहरूलाई पाँच वर्षे कार्यकाल सफलता पुर्वक पूरा गरेको भन्दै नव निर्वाचित अध्यक्ष खड्काले मायाँको चिनो प्रदान गरेर विदाई गर्नु भएको हो ।