सिन्धुली-कमलामाई नगरपालिकाका नवनिर्वाचित मेयर उपेन्द्र पोखरेलले सिन्धुलीबासीलाई सिन्धुलीगढी प्रवेश शुल्क ५० प्रतिशत छुट गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै मेयर पोखरेलले परिचयपत्रको आधारमा सिन्धुलीबासीलाई सिन्धुलीगढी प्रवेशमा ५० प्रतिशत छुट गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । साथै स्वदेशि पत्रकारलाई परिचयपत्रको आधारमा सिन्धुलगढी निशुल्क प्रवेश गर्न दिइने निर्णय समेत भएको छ । कमलामाई नगरपालिकाले यसअघि जिल्लाबासी, विद्याथी, पत्रकार तथा स्वदेशी पर्यटकलाई सिन्धुलीगढी प्रवेशमा प्रति व्यक्ति ५० रुपैया लिदै आएको थियो ।
यस्तै मेयर पोखरेलले नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनका लागि एक कार्यदल गठन गरि कार्यदलबाट प्राप्त प्रतिवेदको आधारमा कर शुल्क समायोजना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । “कमलामाई नगरपालिकाले विभिन्न शुल्कमा लगाइएको कर समायोजनको सन्दर्भमा नगरवासीबाट अनुरोध भएकोमा नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनकालागि एक कार्यदल गठन गर्ने र कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा करशुल्क समायोजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने ।” निर्णयमा भनिएको छ ।
उहाँले नगरक्षेत्र भित्रका अतिविपन्न परिवारको निशुल्क विमा गरिने कार्यक्रमलाई निरन्त्रता दिइने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । “कमलामाई नगरपालिका क्षेत्रभित्रका अतिविपन्न नगरवासीलाई स्वास्थ्य उपचारको सहज पहुँचका लागि आगामी ०७९/८० देखि लागु हुने गरि नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई स्वास्थ्य मापदण्ड अनुसार निशुल्क स्वास्थ्य विमाको व्यवस्था हुने छ ।”
सोमबार निर्वतमान कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले नवनिर्वाचित मेयर पोखरेललाई कार्यसफलताको शुभकामना दिदै निशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तता दिएको भन्दै खुसि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले विगतका राम्रो कामलाई प्राथमिकतामा राखि निरन्तता दिने विश्वास समेत व्यक्त गर्नुभयो । नव निर्वाचित मेयर पोखरेलले नगरपालिकाको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबै मिलेर नगरलाई सुन्दर र समुन्त बनाउने पर्नेमा उहाँले जोड दिनुभयो । कमलामाई नगरपालिकाका १४ वडाका वडाअध्यक्ष सहित वडा सदस्यलाई सपथ खुवाइएको छ ।