सिन्धुली – सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी हुनु भएको छ । एमालेको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका शंकर बरालले गठबन्धन दलबाट उम्मेदवार बन्नु भएका काँग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पराजित गरेर विजयी हुनु भएको हो ।
अध्यक्षमा विजयी हुन सफल हुनु भएको शंकर बरालले आफ्ना समाजसेवी पिता स्व. रामेश्वर बलालको विरासतलाई निरन्तरता दिने अवसर पाउनु भएको छ । शंकरका पिता रामेश्वर बलालले तत्कालीन बाशेश्वर गाउँपञ्चायत(हाल गोलञ्जोर)को प्रधान पञ्च भएर २५ वर्ष र पाँच वर्ष चाहि समाजसेवी भएर बाशेश्वरका वासिन्दाहरूको सेवा गर्नु भएको थियो ।
समाजसेवी तथा राजनीतिकर्मी रामेश्वर बलालका जेष्ठ पुत्र शंकर बरालले आफ्ना पिताजीको सत्मार्गमा लागेर विगत २० वर्षदेखि गोलञ्जोरका जनताको सेवा गर्दै चाहे त्यो २०७२ साल वैशाख १२ गतेको महा विनासकारी भूकम्पमा पीडितहरूका लागि राहत वितरण होस् वा २०७६ साल चैत ११ गतेबाट सुरू भएको कोरोना लकडाउनको त्रासदीपूर्ण अवस्थामा होस्, रातदिन नभनी गोलञ्जोरका जनताको सेवामा खटनु भएको प्रतिफल स्थानीय गोलञ्जोरवासीले आफ्नो सुखदुखको मित्र गाउँपालिका अध्यक्ष नै चुनेका छन् ।