शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका आठ पालिकामा गणना सकियो

बिहिवार , जेठ ५, २०७९

सिन्धुली – सिन्धुलीको नौ पालिका मध्ये आठ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाको एक नगरपालिका बाहेक आठ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । जिल्लाको काँग्रेस र एमालेले दुई¬–दुई गाँउपालिकाको प्रमुख र माओवादीले एक नगरपालिका सहित तिन गाँउपलिकाको प्रमुखमा विजयी भएका छन् ।

फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ । सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र वरालको निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गर्नुभएको छ । फिक्कलको छ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा काँंग्रेसले अध्यक्षमा विजयी भएका छन् ।

गोलन्जोर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शंकर राज बराल निर्वाचित हुनुभएको छ । २८१ मतान्तरले बराल गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । बरालले ४७४४ मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका पुष्प बहादुर कार्कीले ४४६३ मत प्राप्त गर्नुभयो थियो । यस्तै गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्र पाटिका फणिन्द्र बहादुर ठकुरीले ४५ मत प्राप्त गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पाटी समाजवादीका हरि बहादुर नेपालीले २३ मत प्राप्त गर्नुभएको छ ।

गोलन्जोर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादीका ज्वाला न्यौपाने पुकार विजयी हुनुभएको छ । उहाँले ४२४२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी ममता देवकोटाले ३८३८ मत प्राप्त गर्नुभएको थियो । गोलन्जोर गाउँपालिकाको ७ वटा वडा मध्ये २, ४, ६ को वडा अध्यक्षमा नेपाली काँग्रेस, १ र ३ वडामा नेकपा माओवादी, ५ र ७ वडाअध्यक्षमा नेकपा एमालले जित हासिल गरेको छ ।

मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले पाँच हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले चार हजार ७६० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसका विमला माझीले पाँच हजार २८१ मत ल्याउर विजयी हुनुभएको छ । मरिणको सात वडामध्ये छ वटामा माओवादी केन्द्र र एउटामा एमालेले विजयी भएका छन् ।

हरिहरपुरगढी गाउँपालिका माओवादी केन्द्रका बज्रध्वज वाइबा अध्यक्षमा निर्वाचित हुनुभएको छ । १ हजार ११३ मतको फराकिलो अन्तरमा विजयी वाइबाले ४ हजार ७२९ मत पाउनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा काँग्रेसका चेखबहादुर थिङले ५ हजार ७०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी निर्मला ठाडामगरले आधा २ हजार ८५५मत पाउनुभएको थियो । ८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा वडा नं १ मा एमाले वडा नं २ मा काँग्रेसले वडाध्यक्षसहित प्यानल जित हात पारेको छ भने बाँकी ३ देखि ८ सम्मका ६ वटा वडाहरुमा माओवादी केन्द्रले अध्यक्ष सहितको प्यानलै विजयी हासिल गरेको छ ।

दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली काँग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित हुनुभएको हो । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गर्नुभयो । प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गर्नुभयो । पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

चौध वडामध्ये काँग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । काँग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी हुनुभएको छ ।

सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिपा दाहाल निर्वाचित हुनुभएको छ । २७८ को मतान्तरले दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । दाहालले ५३७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका रोमन राज गिरिले ५०९८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका नेपाली काँग्रेसका कपिल कुमार कोइराला विजयी हुनुभएको छ । कोइरालले ६५९४ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी हेमा कुमारी अधिकारीले ३९५८ मत प्राप्त गर्नुभएको थियो । सुनकोशी गाउँपालिकाको ७ वडा मध्ये ४ वडा काँग्रेस, दुइ माओवादी र एक एमालले जित हासिल गरेको छ ।

तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांँग्रेसका कर्णबहादुर थापामगर पुनः निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित थापामगरले ९ हजार २३९ मत पाउनु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गर्नुभएको थियो । ०७४ मा दाहालसँग १९ मतअन्तरले विजयी हुनुभएको थापामगरले यो पटक फराकिलो अन्तर बनाउनुभएको हो । ०७४ मा थापाले ५ हजरा ७०१ मत प्राप्त गर्नुभएको थियो भने दाहालले ५ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । तामाङ ०७४ मा उपाध्यक्षमै विजयी हुनुभएको थियो । उपाध्यक्षमा विजयी पुलामी ०७४ मा माओवादीबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर तेस्रो हुनु भएको थियो । तीनपाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा काँग्रेस वडाध्यक्षसहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।

घ्याङलेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगत बहादुर भोलन २ हजार १ सय ३ मत पाएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चतुरमान लोले १ हजार ३ सय ८३, स्वतन्त्र तर्फका अध्यक्ष पदका उमेदवार गणेश पुलामीले १ हजार १ सय ९४, जसपाका असोक घलानले १ सय १ र राप्रपाका रोजन कुमार बम्जनले २३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका प्रमिला वाईबाले १ हजार ५ सय २८, र जसपाका कुमारी वाईबाले ८७ मत प्राप्त गर्नुभएको थियो । पाँच वटा वडा रहेको घ्याङलेख गाँउपालिकामा ४ वटा वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्लाको कमलामाई नगरपालिकाको मत गणना जारी छ ।

सिन्धुलीको दुइ पालिका प्रमुखमा महिला

यसैबिच सिन्धुलीको दुइ गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका छन् । जिल्लाको फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन् । सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिपा दाहाल निर्वाचित हुनुभएको छ । २७८ को मतान्तरले दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । दाहालले ५३७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका रोमन राज गिरिले ५०९८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सुनुवार चार हजार ६२ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया