शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुई दिनको सुत्केरी देखि १०७ वर्षको बृद्धा मतदान

शनिवार , बैशाख ३१, २०७९

सिन्धुली – सिन्धुलीमा दुइ दिनको सुत्केरी आमा देखि १०७ वर्षको बृद्धाले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शुुक्रबार भएको स्थानिय तह निर्वाचनमा मतदान केन्द्रमै पुगेर दुइ दिनको सुत्केरी आमा देखि १०७ वर्षको बृद्धाले मतदान गर्नुभएको हो ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०७ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको थियो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । सुनुवार्नी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा पुग्नुभएको थियो । उहाँ सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले बताउनुभयो ।

कमलामाई नगरपालिका ४ आ.वि देउरालीबुथमा दुइ दिनका सुत्केरी आमा भोट हाल्न आइपुग्नु भएको थियो । आफ्नो एक भोटले राम्रो नेतृत्व चयन गर्न सहयोग पुग्ने भन्दै भोट हाल्न आइ पुगेको उहाँले बताउनुभयो । “मेरो एक भोटले राम्रो नेतृत्व चयन गर्न मदत गर्छ, त्यसैले म भोट हाल्न आए ,” उहाँले भन्नुभयो । नेतृत्व गर्न सक्षम व्यक्तिलाई भोट दिएको भन्दै उहाँ मुस्कुराउदै फर्किनुभयो ।

आ.वि देउराली बुथमा ९६ वर्षिय एक बृद्धा भोट हाल्न आइपुग्नु भएको थियो । छोराको साहारा लिदै उनले भोट हालिन् । सोहि बुथमा एक क्रियापुत्री बसेको मनोज उखुट्टी भोट हाल्न आइपुग्नु भयो । आफ्नो अधिकार प्रयोग गर्ने समय भएकाले मतदान केन्द्रमा भोट हाल्न आएको उहाँले बताउनुभयो । “भोट त हाल्ने प¥यो, सुरक्षित साथ भोट हाले, मेरो यो एक भोटले नेतृत्व तहमा राम्रो मान्छे आउने छ ,” उहाँले भन्नुभयो ।

सिन्धुलीमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ । यूवावय भन्दा बढि मतदानमा बुढापाकाहरुले जागर देखाएका थिए । शुक्रबार दिउसो हावाहुरी सहित आएको पानीले तीनपाटन, दुधौली, सुनकोसी र कमलामाइ नगरपालिकाका केही केन्द्रमा मतदान दुइ घण्टा अवरुद्ध भएको थियो । मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाका अनुसार सबै केन्द्रमा उत्साहपूर्वक मतदान सम्पन्न भइ गणनाको तयारी भइरहेको छ । सिन्धुलीमा ६५ प्रतिशत भन्दा माथि मत खसेको छ । सिन्धुलीको मतदाता संख्या दुईलाख ६ हजार ३३५ रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा यहा ७८ प्रतिशत मत खसेको थियो ।

सिन्धुलीमा ६५ प्रतिशत मत खस्यो

यसैबिच सिन्धुलीमा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार जिल्लामा लगभग ६५ प्रतिशत मत खसेको अनुमान गरिएको हो । कमलामाई नगरपालिकामा ३० हजार ६ सय ९० मत खसेको छ । ४५ हजार २८ जना मतदाता रहेको नगरपालिकामा जम्मा १५ हजार २ सय ११ पुरुष र १५ हजार ४ सय ७९ महिलाले मतदान गरेका छन् ।

फिक्कल गाउँपालिकामा ८ हजार ७ सय ९१ मत खसेको छ । ११ हजार ९ सय २५ मतदाता रहेको गाउँपालिकामा ४ हजार ६सय १६ जना पुरुष र ४ हजार १ सय ७५ जना महिलाले मतदान गरेका छन् । मरिण गाउँपालिकामा १२ हजार १ सय ५८ मत खसेको छ । १६ हजार ८ सय ४६ मतदाता रहेको मरिणमा ६ हजार २ सय ६४ पुरुष र ५ हजार ८ सय ९४ महिलाले मतदान गरेका छन् ।हरिहरपुरगढी गाउँपालिकामा ११ हजार ८सय ५९ मत खसेको छ ।

१७ हजार ४ सय ६३ मतदाता रहेको हरिहरपुरगढीमा ६ हजार १सय ८७ पुरुष र ५ हजार ६ सय ७२ महिलाले मतदान गरेका छन् । सुनकोशी गाउँपालिकामा १२ हजार ३७ मत खसेको छ । १८ हजार १ सय ५४ मतदाता रहेको सुनकोशीमा ६ हजार ५ सय ६१ पुरुष र ५ हजार ४ सय ७६ महिलाले मतदान गरेको जनाएको छ ।

 

प्रतिक्रिया