सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई म्यादी प्रहरीसहित ५ जना घाइते भएका छन् । घाइते १ म्यादी प्रहरीको गाउँपालिकास्तरीय अस्पताल हायुटारमा उपचार जारी छ । अन्यलाई लाठी र ढुंगा प्रहारबाट सामान्य चोटपटक लगेको छ ।
मतपेटिका मतगणनास्थल ल्याउँदा दलीय प्रतिनिधि उपस्थिति नगराएको भन्दै भनाभन सुरु भएपछि झडपको रुप लिएको निर्वाचन अधिकृत विमल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं २ मा रहेको निर्वाचन कार्यालयमा शुक्रबार राति करिब ९ बजे समयमा झडप भएको हो ।
दलीय प्रतिनिधिहरुले चित्त नबुझेको विषयमा जानकारी लिन खोज्दा मतदान अधिकृत सुदन थिङले अस्वीकार गरेको माओवादी केन्द्रका नेता डीबी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान अधिकृत थिङ अहिले सम्पर्कमा छैनन् ।
माओवादी कार्यकर्ताहरुले नाराबाजी गर्दै दलीय प्रतिनिधिको रोहबरबिनै मतपेटिका ल्याइएको विषय शंकास्पद भएको भन्दै छानबिनका लागि माग गरेका थिए । त्यसपछि कांग्रेस, माओवादी, एमाले, जनता समाजवादी पार्टी र सुरक्षा निकायबीच छलफल भएको थियो ।
निर्वाचन अधिकृतसहितको छलफलमा शनिबार सम्बन्धित मतदान अधिकृतलाई कमजोरीको विषयमा सोधपुछ गर्ने समझदारी भएको नेता तामाङले बताउनुभयो । निर्वाचन अधिकृत थापाले भन्नुभयो, ’मतदान अधिकृत थिङले गल्ती गरिसके, त्यस विषयमा भोलि कुराकानी गर्ने समझदारी बनेको छ ।’ उहाँका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ ।