सिन्धुली - स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०७ वर्षकी कुमारी सुनुवार्नीले गरेको छन्। उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्। सुनुवारनी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले दाबी गरे।
सिन्धुलीमा करिब ७० प्रतिशत मतदान
सिन्धुलीमा साँझ ५ बजेसम्म करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दीपुर, फिक्कल गाउँपालिकाको केही मतदान केन्द्रमा पार्टीका कार्यकर्ताबीच भएको सामान्य विवादबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण तथा सहज रूपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत पुष्पाकुमारी झाले जानकारी दिइन्। उनका अनुसार दिउँसो पानी पर्दा केही समय मतदान प्रक्रिया रोक्नु परेको र पानी रोकिएपछि मतदान शुरु गरिएको थियो।