सिन्धुली – सिन्धुलीमा सुरक्षित तरिकाले मतगणना गर्नका लागि मतणनास्थलमा तयारी गरिएको छ । जिल्लाका नौँ वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।
जिल्लाका नौँ वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका मुख्य निर्वाचन अधिकृत धुव प्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार जिल्लाका नौँ वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ ।
दुइ नगरपालिका र ७ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृत सापकोटाका अनुसार कमलामाई नगरपालिकाको मतगणना बागमानीमा गर्नका लागि मतगणनास्थल तयार गरिएको छ ।
सभाहलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा जडान गरेर तयारी अवस्थामा राखिएको छ । उहाँले मतगणनास्थलमा सिसी क्यामेरा जडान र तारबारको व्यवस्था मिलाएको बताउनुभयो । बाकिँ ८ पालिकाको भने पालिकाको कार्यालयमै मतणनास्थल तयार पारिएको उहाँले बताउनुभयो । “प्रत्येक पालिकाको कार्यालयमा मतगणनास्थल तयार गरेको छ, सिसि क्यामेरा सहित तारजालिले घेरावेरा गरि सम्पूर्ण तयारी पुरा गरेको छौँ । ” उहाँले भन्नुभयो ।
यस्तै तिनपाटन गाउँपालिकाले मतगणनास्थलमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सिसी क्यामेरासहितको मतगणनास्थलको तयारी गरिएको तिनपाटन गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सिसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले स्थानीय पालिकाको व्यवस्थापनमा सिसी क्यामेरा र तारजाली लगाएको हो ।